गृहपृष्ठ आहा रारा पोखरा गोल्डकप : संकटालाई उपाधि
आहा रारा पोखरा गोल्डकप : संकटालाई उपाधि
२२औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलको उपाधि संकटा फुटबल क्लबले जितेको छ ।
पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अमेरिकाको भुटानिज युथ सकर क्लब युएसएलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको हो । खेलको अतिरिक्त समयमा कप्तान सुनिल बलले गोल गरेपछि संकटा दोस्रो पटक आहा रारा गोल्डकप उपाधिकाे हकदार बनेकाे हाे ।
खेलको आठौं मिनेटमा सुरज ज्यु ठकुरीले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए । ३५औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै संकटालाई २-० को अग्रता दिलाए । खेलको ३७औं मिनेटमा रेने सान्टिलोनले गोल गर्दै भुटानिजलाई २-१ को स्थितिमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा विलिस ग्रिफिथले गोल गर्दै भुटानिजलाई २-२ गोलको बराबरीमा ल्याएका थिए ।
दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल २-२ को बराबरी हुँदा अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको ११७औं मिनेटमा सुनिलले विजयी गोल गरे ।
उपाधिसँगै संकटाले १२ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको भुटानिजले ६ लाखमा चित्त बुझायो । हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियाे ।
प्रकाशित समय : १७:५९ बजे



















