गृहपृष्ठ मेगा बैंकको कामु सीईओमा तुलसीराम पोखरेल
मेगा बैंकको कामु सीईओमा तुलसीराम पोखरेल
मेगा बैंकको कायम मुकायम अधिकृतको जिम्मेवारी तुलसीराम पोखरेलले पाएका छन् ।
बैंकको पुस ७ गते बसेको संचालक समितिको बैठकले पुस ९ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मको लागि पोखरेललाई कामु सीईओको जिम्मेवारी दिइएको हो ।
विगत २७ बर्षदेखि नेपालको बैंकिङ सेवामा रहेका पोखरेल मेगा बैंककाे १४ जना संस्थापकमध्ये एक हुन् । बैंक सञ्चालनमा आउनुभन्दा अघि नै २०६७ साल बैशाख १ गतेबाट पूर्व सञ्चालन अवस्थाको कार्यकारी प्रमुख बनेर प्रस्तावित बैंकको दर्ता, लाइसेन्स लिने तथा बैंकका लागि आवश्यक पूर्वाधार तयार पार्ने कामको नेतृत्व गर्दै मेगा बैंकमा सेवा प्रारम्भ गरेका पोखरेल मेगा बैंकको सहायक महाप्रबन्धक, नायब महाप्रबन्धक, वरिष्ठ नायब महाप्रबन्धक हुँदै कामु सीईओ बनेका हुन् ।
उनले स्थापनाकालदेखि नै बैंकको उच्च व्यवस्थापनमा रही विभिन्न विभागको विभागीय जिम्मेवारीका साथै कम्पनी सचिवको जिम्मेवारी समेत निर्वाह गरेका थिए । नवदुर्गा फाइनान्सको सहायक प्रबन्धकको रुपमा करिब तीन दशकअघि करिअर सुरु गरेर अधिकृत बनेका उनी मेगा बैंकमा आवद्ध हुनुअघि फ्रुडेन्शियल फाइनान्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत समेत थिए ।
यसअघि बैंकको कामु सीईओमा रहेको रविना देशराज श्रेष्ठ जोशीको राजीनामा पुस ८ गते अन्तिम कार्य दिन हुने गरी स्वीकृत भएको थियो । उनले मेगा बैंकमा १३ वर्ष भन्दा बढी समय रहेकी थिइन् ।
प्रकाशित समय : १८:०६ बजे

















