काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपालगञ्ज म्याराथनको उपाधि खड्गबहादुर र हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठलाई

10.04K
shares

आठौं संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले जितेका छन् । नेपालगञ्जमा आज भएको म्याराथनमा खड्काले निर्धारित दूरी दुई घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका हुन् ।

म्याराथनमा दोस्रो र तेस्रो आर्मीकै क्रमशः नरेन्द्रसिंह रावत र मोहनदेव जोशी भए । रावतले निर्धारित दूरी दुई घण्टा २२ मिनेट २९ सेकेन्डमा तथा जोशीले दुई घण्टा २४ मिनेट ३६ सेकेन्डमा पूरा गरे । यसअघि सातौं संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि एपीएफ क्लबका किरणसिंह विष्टले जितेका थिए ।

उपाधि विजेता खड्काले एक लाख ५० हजार रूपैयाँ पुरस्कार प्राप्त गरे । दोस्रो भएका रावतले ६० हजार र तेस्रो भएका जोशीले ३० हजार रूपैयाँ पुरस्कार प्राप्त गरे ।

यस्तै आठौं संस्करणकै महिला हाफ म्याराथनको उपाधि बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जितिन् । उनी सातौं संस्करणकी समेत च्याम्पियन हुन् । उनले निर्धारित दूरी एक घण्टा १६ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै रु ६० हजार पुरस्कार प्राप्त गरिन् ।

यस्तै सो म्याराथनमा दोस्रो भएकी अञ्जली चौहानले निर्धारित दूरी एक घण्टा २५ मिनेट १५ सेकेन्डमा पूरा गरिन् भने तेस्रो भएकी अञ्जु खड्काले एक घण्टा ३६ मिनेट ४४ सेकेन्डमा पूरा गरिन् । दुवैजनाले क्रमशः ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरेको आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष एवं नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीले जानकारी दिए ।

हरेक वर्ष मंसिर ५ गते आयोजना गरिँदै आएको म्याराथन यस वर्ष प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण दुई साता पर धकेलिएको ठकुरीले बताए । प्रतियोगिता क्रियटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा भएको हो ।