nmb bank

गृहपृष्ठ तीन दशकपछि आमने–सामने भएका देव गुरुङसँग पृथ्वीसुब्बाको जित

तीन दशकपछि आमने–सामने भएका देव गुरुङसँग पृथ्वीसुब्बाको जित

तीन दशकपछि आमने–सामने भएका देव गुरुङसँग पृथ्वीसुब्बाको जित

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १ सय ८८ मतले पराजित गर्दै एमाले उपमहासचिव गुरुङले प्रतिनिधिसभाको यात्रा तय गरेका हुन् । निर्वाचित गुरुङले ३४ हजार ९ सय ६९ मत पाएका छन् ।

प्रतिद्वन्द्वी गुरुङले ३१ हजार ७ सय ८१ मत पाएका मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । उनका अनुसार कूल १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेकोमा ८० हजार १ सय ९२ मत खसेको थियो । खसेको मतमध्ये प्रतिनिधिसभातर्फ २ हजार ३ सय ८४ मत बदर भएको छ ।

२०७४ को स्थानीय तह चुनावमा कांग्रेस–माओवादी केन्द्र तालमेल भइरहँदा लमजुङमा ‘बाम गठबन्धन’को सुरुवात भएको थियो । त्यसपछिको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य चुनावमा पार्टी एकीकरण गर्ने गरी तालमेल गर्दा देवप्रसाद गुरुङ एमालेको सहयोगमा प्रतिनिधि सभा सदस्यमा उठेर निर्वाचित भएका थिए । यसपटक कांग्रेसको सहयोगमा प्रतिनिधिसभामा जाने उनको रहर पूरा हुन सकेन ।

२०७४ मा देव गुरुङको सहयोगी बनेका पृथ्वीसुब्बा गुरुङले अहिले उनैलाई हराउँदै ५ वर्षका लागि संसदको यात्रा तय गरेका हुन् ।

२०६४ मा माओवादी केन्द्रका देवप्रसाद गुरुङले मनाङमा कांग्रेसका पाल्तेन गुरुङलाई हराएर सँगसँगै संविधानसभा प्रवेश गरेका थिए । मुलुकभर एमालेले चुनाव हारेर तेस्रो पार्टीमा खुम्चिँदा लमजुङमा भने पृथ्वीसुब्बा गुरुङले जितेका थिए । २०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा लमजुङ प्रदेश (२) बाट विजयी गुरुङ गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री बने ।

उमेरका हिसावले पृथ्वीसुब्बा गुरुङ र देवप्रसाद गुरुङ ६४ वर्षका भए । २०४८ को निर्वाचनमा ‘एक बाम–एक ठाम’ को नारा लिएर पृथ्वीसुब्बा गुरुङ लमजुङ क्षेत्र नं. २ बाट चुनाव लड्दा एमालेले केशवलाल श्रेष्ठको उम्मेदवारी झिकेर तत्कालीन जनमोर्चाका तर्फबाट क्षेत्र नं. १ मा देवप्रसाद गुरुङलाई चुनाव लडाएको थियो । २०४८ मा चुनाव लडेका यी दुवै नेता अहिले ३ दशकपछि फरक–फरक पार्टीबाट आमने–सामने भएका हुन् । २०७० को चुनावमा वैद्य पक्षमा लागेर देवप्रसाद गुरुङले चुनाव बहिस्कार गर्दा पृथ्वीसुब्बा गुरुङ कांग्रेसका चन्द्रबहादुर गुरुङसँग हारेका थिए ।

संसदीय राजनीतिमा पृथ्वीसुब्बा गुरुङले सातौंपटक चुनाव लड्दा नागरिकको प्रतिनिधि भएर यो समेत गरी ३ पटक संसद् प्रवेश गर्ने भएका छन् । देवप्रसाद गुरुङले चौथोपटक चुनाव लड्दा यसपटकसहित २ पटक हारेका छन् ।

प्रकाशित समय : ०९:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु