गृहपृष्ठ चार दिनपछि आज खुल्दै सेयर बजार

चार दिनपछि आज खुल्दै सेयर बजार

चार दिनपछि आज खुल्दै सेयर बजार

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका कारण चार दिनदेखि बन्द रहेको सेयर आज मंगलबार खुल्ने भएको छ । चुनावी परिणाम आउँदै गर्दा खुल्ने सेयर बजारले दिने परिणामसँगै सेयर बजारको प्रवृत्तिबारे सर्वसाधारणको चासो छ ।

निर्वाचनअघि सेयर बजार नेप्से परिसुचकमा बढ्दो प्रवृत्ति देखिएको थियो । चुनावपछि पनि त्यहीँ प्रवृत्तिले निरन्तरता पाउने आधार बलिया देखिन्छन् ।

विश्व बजारमै एउटा भाष्य छ, वामपन्थी नेतृत्व सेयर बजार प्रति उदार हुँदैनन् । नेपालमा पनि विगतमा सेयर बजारले त्यस्तै प्रवृत्ति देखाउँदै आइरहेको छ । ०७४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछिको सेयर बजारमा नेप्से घट्ने प्रवृत्ति देखिएको थियो । तत्कालीन समयमा वामपन्थी दलहरुको सरकार बन्ने देखिएपछि लगानीकर्ताको मनोबल कमजोर भई नेप्से खस्किएको टिप्पणी गरिएको थियो ।

तर, यसपालीको मतपरिणाम भने फरक देखिने आकलन भइरहँदा सेयर बजारले कस्तो प्रतिक्रिया देखाउँला भने आमचासोको विषय बनेको छ । प्रारम्भिक मतपरिणामलाई आधार लिने हो भने स‌‌ंसदमा कुनै पनि दलको बहुमत नपुग्ने र सरकार अस्थिर रहने सम्भावना रहेको विश्लेषकको आकलन छ ।

जुन सेयर बजारका लागि निकै नकारात्मक पक्ष हो । अस्थिर सरकार रहँदा आर्थिक गतिविधिले भन्दा राजनीतिक सक्रमण बढ्ने जोखिमका कारण बजार बढ्दै जानेमा लगानीकर्ता संशकित छन् ।

तर, निर्वाचनपछि बजारमा पैसाको आपुर्ति बढ्ने र तरलता सहज बन्दै गएमा बैंकको ब्याजदर घट्ने हुँदा यसले अल्पकालीन रुपमा सेयर बजारलाई बढाउन सघाउ पुर्‍याउने आकलन गरिएको छ ।

त्यसबाहेक अहिले कर्जाको ब्याजदर बढेर उद्योगव्यवसायमा मन्दी आइरहेको समयमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत निजी क्षेत्रका माग सम्बोधन गर्न कस्तो नीति लिन्छ भनेर लगानीकर्ता केही समयका लागि पर्ख र हेरको स्थितिमा बस्ने पनि आकलन गरिएको छ ।

सेयर बजार गत बिहीबार २५.५७ अंकले बढेर १९३६.८३ बिन्दुमा बन्द भएको थियो । त्यसयता आज सेयर बजारको पहिलो कारोबार हुन लागेको हो ।

प्रकाशित समय : ०८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु