गृहपृष्ठ मालीमा शान्ति सैनिकमाथि भएको हमलाको राष्ट्रसंघका महासचिवद्वारा निन्दा
मालीमा शान्ति सैनिकमाथि भएको हमलाको राष्ट्रसंघका महासचिवद्वारा निन्दा
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले हालैमात्र संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकमाथि मालीमा भएको हमला र हत्याको निन्दा गरेका छन् । मालीमा रहेको संयुक्त राष्ट्रसंघकाे शान्ति मिसनका सदस्यमाथि गत सोमबार हमला भएको थियो । गस्तीमा रहेका उनीहरुमाथि भएको बम हमलामा परेर कम्तीमा पनि चार जना क्यानाडेली सेनाको ज्यान गएको थियो ।
त्यसैगरी सो हमलामा परेर अरु केही सैनिक घाइते भएका थिए । उनले मंगलबार प्रकाशन गरेकाे विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ । साथै सो विज्ञप्तिमा यसरी शान्ति स्थापनाका लागि खटेका सेनामाथि हमला गर्नु र हत्या गर्नु अन्तर्राष्ट्रिय युद्ध अपराधअन्तर्गत पर्ने र यस्ता व्यक्तिलाई कडाभन्दा कडा कारबाही गरेर उनीहरुलाई कानुनी उपचारको दायरामा ल्याउनुपर्नेमा पनि जोड दिएका छन् ।
महासचिव गुटरेसले संयुक्त राष्ट्रसंघ जहिले पनि शान्तिको पक्षमा रहेको भन्दै यस्तो अवस्थामा संयुक्त राष्ट्रसंघले मालीका नागरिक र उनीहरुको शान्तिको चाहनाको पक्षमा रहेको स्पष्ट गरे ।
उनले मालीमा हिंसा मच्चाइरहेका सबै सदस्यहरुलाई हिंसाका बाटो छोडेर शान्तिपूर्ण मार्गमा लाग्न आग्रह गर्दै मालीको सरकारले शान्तिपूर्ण वार्ताका लागि वातावरण बनाउनुपर्ने पनि जोड दिएका छन् ।
यसअघि नै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले गत सोमबार मालीमा राष्ट्रसंघीय शान्ति सेनामाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । परिषद्ले हिजै एक प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षा परिषद्का सदस्य राष्ट्रले पीडित परिवारका साथै चाडप्रति गहिरो समवेदना र सहानुभूति व्यक्त गरेका छन् । साथै उनीहरूले घाइतेको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।
परिषद्का सदस्य राष्ट्रले मालीको संक्रमणकालीन सरकारलाई आक्रमणको तुरुन्त अनुसन्धान थाल्न, दोषीलाई न्यायको दायरामा ल्याएर जवाफदेही शासन व्यवस्था प्रवर्द्धन गर्न र सम्बन्धित सेना योगदान गर्ने देशलाई प्रगतिबारे जानकारी दिन आग्रह गरेका छन् ।
शान्ति सेनालाई लक्षित गरी आक्रमण गर्दा अन्तर्राष्ट्रिय कानूनअन्तर्गत युद्ध अपराध हुनसक्ने, सबै प्रकारका आतंकवाद अन्तर्राष्ट्रिय शान्ति-सुरक्षाका लागि सबैभन्दा गम्भीर चुनौती भएकामा जोड दिँदै परिषद्ले मालीको सुरक्षा स्थितिबारे पनि चासो एवं चिन्ता व्यक्त गरेका छन् ।
प्रकाशित समय : १३:१९ बजे

















