गृहपृष्ठ अरिंगालले टोक्दा सल्यानमा आमाछोरीको मृत्यु
अरिंगालले टोक्दा सल्यानमा आमाछोरीको मृत्यु
अरिंगालले टोक्दा सल्यानमा आमाछोरीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका १ हामफालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ति बुढाथोकीको मृत्यु भएको हो ।
उपचारका लागि लैजाने क्रममा दुवै जनाको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए । उनका अनुसार घरभन्दा एक घन्टा टाढाको दुरीमा रहेको खेतमा धान काटेर घरतिर फर्कंदै गरेको समयमा सोमबार बेलुकी शोभा बस्नेत बुढाथोकी, उनकी छोरी प्राप्ति बुढाथोकी र शोभाका काका २१ वर्षीय नवीन बस्नेतलाई धेरै अरिंगालले शरीरका विभिन्न भागमा टोकेको थियो ।
अरिंगालले चिलेपछि घाइते भएका सबैलाई सोमबार बेलुकी नै श्रीनगरस्थित परोपकार अस्पतालमा सामान्य उपचार गरिएको र त्यसपछि थप उपचारको लागि मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा प्राप्तिको त्रिवेणी गाउँपालिकाको शंखमूल नजिकै र शोभाको मेडिकल कलेज कोहलपुर पुगेपछि मृत्यु भएको प्रहरी निरीक्षक खनालले जानकारी दिए ।
मृतक बालिकालाई अहिले जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टमका लागि ल्याइएको र आमा शोभालाई कोहलपुरबाट ल्याउने तैयारी भइरहेको उनले जानकारी दिए ।
प्रकाशित समय : ०८:०७ बजे



















