गृहपृष्ठ ‘एक देश, दुई प्रणाली’को नीतिलाई कायम राख्ने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
‘एक देश, दुई प्रणाली’को नीतिलाई कायम राख्ने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का महासचिव एवं राष्ट्रपति सी चिनफिङले सुधारसहित एक देश, दुई प्रणालीको नीतिलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको आज बेइजिङमा सुरू भएको बीसौँ महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले ‘एक देश, दुई प्रणाली’को नीति चिनियाँ विशेषता सहितको समाजवादको ठूलो आविष्कार हङकङ र मकाउमा दिगो समृद्धि र स्थायित्व सुनिश्चित गर्न यो प्रणाली सबैभन्दा राम्रो संस्थागत व्यवस्था साबित भएकाे बताए । उक्त नीतिलाई दीर्घकालीन रूपमा पालना गर्नुपर्नेमा जोड दिँदै त्यसलाई पूर्ण रूपमा इमानदारी एवं दृढताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
हङकङ र मकाउमा कानुनमा आधारित शासन सुनिश्चित गर्न एक देश, दुई प्रणालीअन्तर्गत हङकङका जनताले हङकङको प्रशासन गर्ने र मकाओका जनताले मकाउको शासन गर्ने बताउँदै उनले दुवैलाई उच्च स्तरको स्वायत्तताका लागि सीपीसी प्रतिबद्ध रहने स्पष्ट गरे । महासचिव सीले दुवै क्षेत्र देशभक्तहरूद्वारा प्रशासित भएको सुनिश्चित गर्न केन्द्र सरकारले समग्र अधिकार उपभोग गर्न दिने स्पष्ट गरे ।
हङकङ र मकाउको अर्थतन्त्र सबल बनाउन, त्यहाँका जनताको जीवनस्तरमा सुधार गर्न, आर्थिक एवं सामाजिक विकासका समस्या समाधान गर्न तथा दुई विशेष प्रशासनिक क्षेत्रमा दीर्घकालीन समृद्धि र स्थिरता प्रवर्द्धन गर्न सहयोग गर्ने दृढता पनि महासचिव सीले व्यक्त गरे । उनले हङकङ र मकाउलाई चीनको समग्र विकासमा अझ राम्रोसँग समाहित गर्न चाहेको बताए ।
महासचिव सीले महाधिवेशनमा प्रस्तुत गरेकाे प्रतिवेदनअनुसार केन्द्र सरकारको समग्र क्षेत्राधिकार र विशेष प्रशासनिक क्षेत्रमा उच्च स्तरको स्वायत्तता सुनिश्चित हुनेछ भने केन्द्रीय अधिकारीहरूले हङकङ र मकाउमा कार्यकारी नेतृत्वको सरकारलाई समर्थन गर्नेछन् । कानुनमा आधारित प्रशासनको अभ्यास गर्न, उनीहरूको समग्र शासन र व्यवस्थापन क्षमता अभिवृद्धि गर्न तथा उनीहरूको न्यायिक र कानुनी प्रणालीमा सुधार गर्न दुई क्षेत्रका प्रमुख कार्यकारीहरू र सरकारलाई केन्द्रबाट सहयोग हुनेछ ।
‘हामी हङकङ र मकाउका बासिन्दालाई दुवै क्षेत्रप्रति सद्भाव राख्न, थप देशभक्त हुन र एक देश, दुई प्रणाली नीतिको समर्थनमा स्वदेश र विदेशमा फराकिलो संयुक्त मोर्चा बनाउन प्रेरित गर्नेछौँ । हङकङ र मकाउमा अराजकता सिर्जनाको प्रयास गर्ने चीन विरोधी तत्वहरूलाई कडा कारबाही गर्नेछौँ । हामी हङकङ र मकाउको मामिलामा बाह्य शक्तिहरूको हस्तक्षेप रोक्न र दृढ कदम चाल्नेछौँ,’ प्रतिवेदनमा भनिएको छ ।

चीन कहिल्यै विस्तारवादमा संलग्न नहुने
चिनियाँ कम्युनिष्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रकै क्रममा राष्ट्रपति सीले चीन कहिल्यै प्रभुत्व खोज्ने वा विस्तारवादमा संलग्न नहुने स्पष्ट गरे । चीन सबै प्रकारका आधिपत्यवाद र शक्ति राजनीति, शीतयुद्धको मानसिकता, अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप र दोहोरो मापदण्डको विरुद्धमा दृढतापूर्वक उभिएको र भविष्यमा पनि उक्त नीतिमा अडिग रहने उनले बताए ।
चीन विश्वशान्तिका निम्ति स्वतन्त्र विदेश नीति अवलम्बन गर्न दृढ रहेको, गुण र दोषका आधारमा वैश्विक विषयहरूमा आफ्नो अडान र नीति निर्धारण गरेको दोहोर्याउँदै महासचिव सीले चिनियाँ विदेश नीतिबाट देशको अन्तर्राष्ट्रिय सम्बन्धलाई नियन्त्रित गर्ने आधारभूत मान्यतालाई कायम राख्न तथा अन्तर्राष्ट्रिय निष्पक्षता एवं न्यायको रक्षा गर्न मद्दत पुग्ने बताए ।
प्रकाशित समय : १७:०९ बजे


















