गृहपृष्ठ सत्यमोहन जोशी : निष्काम कर्मयोगी
सत्यमोहन जोशी : निष्काम कर्मयोगी
एउटा युगद्रष्टा जसले नेपाल चिनायो र नेपाली भाषा, साहित्य र संस्कृतिलाई समृद्ध बनाई जन्मभूमिलाई गौरवमय योगदान गर्यो । हो, यो प्रसंग डा. सत्यमोहन जोशीको हो । लामो समयदेखि स्वास्थ्यमा देखिएको समस्यासँग जुध्दाजुध्दै आज बिहान उनको निधन भयो ।
नेपाली जनताले जोशीलाई किन सम्झिरहनेछन् ? किनकी, नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाउन उनले देखाएको सामाजिक सक्रियता र राष्ट्रलाई दिएको योगदान हामी नेपालीको स्मृतिमा सधैँ ताजा रहनेछ । मुलुकको प्रतिष्ठित मानिएको मदन पुरस्कार तीन पटक प्राप्त गरेका जोशीलाई सरकारले ‘वाङमय शताब्दी पुरुष’को सम्मान दियो । जनताको मनमा त उनी बसेकै थिए ।
समयको महत्वलाई बुझेकोमात्र होइन, पल-पललाई समाजका लागि उपयोगी बनाउन उनी जीवनभर खटिरहे । कहिल्यै हारेनन् । कहिल्यै थाकेनन् । कतिसम्म भने जाँदा-जाँदै उनले आफ्नो शरीरलाई धुँवामा उडाउन चाहेनन् । मेडिकल साइन्सका विद्यार्थीको अध्ययनका लागि आफ्नो शरीर अस्पताललाई दान गर्ने इच्छापत्रमा निधनअघि नै सहीछाप गरेर बिदा हुने बेलामा पनि उपयोगी कर्म गरेरमात्र उनी गए । बुढेसकाललाई बोझ सम्झिने आम मानसिकता विपरीत निरन्तरको सक्रियतालाई मन्त्र बनाएका जोशीले ‘जीवन सुन्दर छ’ भन्ने सन्देश दिएर हामीमाझबाट बिदा भएका छन् । थोरै बोल्ने, काम धेरै गर्ने जोशी साँच्चै नै कर्मवीर थिए ।
पारमिताका अभ्यासकर्ता जोशी यसको मर्मजस्तै संसारिक सोच विचारभन्दा पर पुग्नुपर्छ भन्ने मान्यता राख्थे । बुद्ध दर्शनको महायान परम्पराअनुसार पारमितालाई बुद्धत्व प्राप्त गर्ने उत्तम मार्ग मानिन्छ । जोशीले आफ्नो कर्मबाट नै त्यो मार्ग उहिल्यै रोजिसकेका थिए ।
नेपाली संस्कृतिको संरक्षण र जगेर्नामा जीवनभरी आफ्नो उर्जा खर्चिएर १०३ बर्ष पृथ्वीलोकका पाहुना रहेका शताब्दी पुरुषलाई श्रद्धाञ्जली । महाप्रस्थानको यात्रामा रहेको यो असल आत्मालाई नमन ।

प्रकाशित समय : १५:४४ बजे

















