गृहपृष्ठ मतदाताले विवेक पुर्‍याउन्

मतदाताले विवेक पुर्‍याउन्

मतदाताले विवेक पुर्‍याउन्

संसदीय लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो, निर्वाचन । किनकी निर्वाचनको माध्यमबाट कस्तो उम्मेदवार छान्ने भन्ने अधिकार मतदाताले प्राप्त गर्छन् । मतदातालाई रिझाउन उम्मेदवारले जनहितका लागि विवेकपूर्ण काम गर्छन् भन्ने मान्यता राख्छ, संसदीय निर्वाचनले ।

आगामी मंसिर ४ को निर्वाचन पनि संसदीय राजनीतिको एउटा अनुपम उदाहरण हो । जनताले आफ्नो प्रतिनिधि छनौट गर्ने महत्वपूर्ण अवसर पनि हो । तर यहाँनिर बुझ्नुपर्ने कुरा के हो भने मतदाताले केवल केही थान जस्तोसुकै जनप्रतिनिधि छान्नुलाई निर्वाचन भनिदैन । मतदाताले केवल आफ्नो विवेक प्रयोग गरेर जनहितका लागिमात्र काम गर्न सक्ने विवेकवान जनप्रतिनिधि छनौट गर्ने अवसर पनि हो, निर्वाचन । यदि मतदाताले क्षणिक लोभ, आकर्षण र भ्रममा परेर भ्रष्ट, अयोग्य र जनहित विरोधीहरूलाई सत्तामा पुर्‍याएर उल्टै उनीहरुलाई हौस्याउने कार्य गरे भने त्यसको असर मतदाता र उसको परिवारका साथै मुलुकलाई पनि ठूलो क्षति पुग्न जान्छ । विगतका निर्वाचनहरुलाई हेर्दा केही अपवाद छाड्ने हो भने राजनीतिलाई अपार पैसा कुम्ल्याउने हतियारमात्र बनाउन खोजेकाहरु निर्वाचित भएरै राजनीतिक शक्तिमा पुगेका छन् । प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री, सभासद भएका छन् ।

राजनीतिक आड लिएर राज्यदोहन गर्न पल्किएकाहरुको ठूलो पंक्ति यसपटकको निर्वाचनमा पनि देखिएको छ । न त जनआधार, न त नैतिक बल भएकाहरुको ठूलो लर्को यसपटकको निर्वाचनमा देखिन्छ । यो निकै निराशाजनक कुरा हो । गठबन्धनको नाममा जनताको मतको हुर्मत लिएर भए पनि सत्ताको केन्द्रमा जसरी पनि पुग्नै पर्ने उनीहरुको अभिष्टभित्र कहीँ कतै जनहितको सवाल प्रधान हुँदैन ।

गाजलको कोठा भनिइने सत्ताबाट बेदाग भएर निस्किएका राजनीतिक प्राणी हामी औंलामा मात्र गन्न सक्ने स्थितिमा छौं । अधिकांश सत्ताको रमरममा रमाएर बिटुलिएका अनुहारहरूलाई हामीले यसपटकको निर्वाचनमा पनि देख्दैछौं । कतै हामी मतदाताले नै उनीहरुलाई ‘सुन-पानी’ छर्किएर शुद्धीकरण गरिरहेका त छैनौ ? हामीले हेक्का राख्नुपर्ने कुरा यही हो । यदि हामी यसमा चुक्यौँ भने नेपाली राजनीति र नेपालका हाम्रा राजनीतिकर्मीमाथि औंला उठाउनुको नैतिक आधार हामी आफैँले कमजोर बनाउने छौं । किनकी संसदीय लोकतन्त्रमा जुन उद्देश्यका लागि निर्वाचनको प्रावधान राखिएको छ, त्यसमा निर्वाचित हुने र निर्वाचित गर्ने दुवै उत्तिकै जिम्मेवार मानिन्छन् । हामी जस्तो छौं निर्वाचित भएर आउने हाम्रा जनप्रतिनिधि पनि त्यस्तै आउने हुन् ।

२०७९ सालको यो निर्वाचनमा केहीलाई छाडेर अधिकांश दलहरु सबै सत्ताको केन्द्रमा बसेर आफ्नो रुप देखाइसकेकाहरु नै हुन् । आम जनतालाई राजनीतिबाट निराश तुल्याउने र समग्र बेथितिका बाहक पनि तिनै दल र तिनका नेताहरु नै हुन् । बिडम्बना नै मान्नुपर्छ, गठबन्धनको हतियार उठाएर यसपटकको निर्वाचनमा पनि उनीहरु हावी हुँदैछन् । २०४६ सालको जनआन्दोलनदेखि अहिलेसम्मको तीन दशक लामो यात्रामा कुशासनका खलनायक भनेर चिनिएकाहरु नै अबका केही दिन जनताको घरदैलोमा हात जोडेर मत मागिरहेको दृश्य आमरुपमा देखिने छन् । फेरि उही गुलिया आश्वासन, पूरा नहुने सपना र आर्थिक प्रलोभन नै उनीहरुले मतदातासमक्ष बाँड्ने हुन् ।

यसपटकको निर्वाचनको माध्यमबाट आगामी सत्ता, सरकारको नवीकरणमात्र गर्ने कि नेपाली राजनीतिका खलपात्रहरुलाई एउटा गतिलो पाठ पढाउने ? २०७९ को निर्वाचनमा नेपाली जनताले जस्तो विवेक प्रयोग गर्नेछन् आगामी नेपालको चित्र र चरित्र पनि त्यस्तै हुनेछ ।

प्रकाशित समय : १२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु