रुपन्देही–१ मा भुसाल स्वतन्त्र उम्मेदवार, माओवादीले ठाउँ छोड्यो, गठबन्धनले समर्थन गर्ने
वि.सं.२०७९ असोज २३ आइतवार १०:५१
shares

पार्टी अध्यक्षले टिकट नदिएपछि एमाले छोडेका नेता घनश्याम भुसालले रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवार दिने भएका छन् । तर उनलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई आफ्नै पार्टीबाट उठ्नका लागि शनिबार प्रस्ताव गरेका थिए । तर भुसालले आफू कुनै पनि पार्टीमा नजाने बताएपछि माओवादीले उक्त क्षेत्र छोडिदिएको छ । रुपन्देही–१ मा उम्मेदवार बनेकी पूर्वसभामुख ओनसरी घर्तिलाई काठमाडौं २ मा ल्याएर माओवादीले उक्त क्षेत्र खाली गरेको हो ।
भूसाललाई गठबन्धनको तर्फबाट सघाउनका लागि दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत आग्रह गरेका थिए । देउवा पनि यसमा सकारात्मक भएर समर्थन जनाएका छन् ।
नेता भूसालले आफू कुनै पनि पार्टीमा अब प्रवेश नगर्ने र वाम आन्दोलनलाई एकता गर्ने अभियानमा खटिने जानकारी दिएका छन् ।

























