गृहपृष्ठ स्वार्थी र स्वार्थको गठजोड

स्वार्थी र स्वार्थको गठजोड

स्वार्थी र स्वार्थको गठजोड

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा जसपाका अध्यक्ष उपेन्द्र यादव सडकमा थिए । मन्त्री हुँदा ओलीले गरेको व्यवहारबाट रन्थनिएका उपेन्द्रका लागि सडक आन्दोलन ओली र एमालेमाथि रोष पोख्ने गज्जबको प्लाटफर्म बनेको थियो । उनी भन्थे, ‘प्रधानमन्त्री केपी ओली एन्ड कम्पनीलाई गलामा गम्छा लगाएर सत्ता र शक्तिबाट ननिकालेसम्म लोकतन्त्रको रक्षा हुन सक्दैन ।’

ओलीमा अहंकार बढेको बताउने उनी कांग्रेसको नरमपनप्रति प्रश्न गर्दै प्रतिपक्षीको धर्मसमेत ननिभाएको बताउँथ्ये । उपेन्द्रमा गर्मी यति चढेको थियो कि, ओलीप्रति सद्भाव राख्नेहरुलाई पार्टीभित्रै पेलेर बाहिरिनुपर्ने अवस्था निर्माण गरे । ओलीको समर्थन गरेकै कारण उपेन्द्रको पेलानमा परेको महन्थ ठाकुर–राजेन्द्र महतोले फरक पार्टी नै बनाए । उहिलेदेखि अहिलेसम्म उपेन्द्रले एमालेमाथि बर्षाएका गाली कति छन भनिसाध्य छैन ।

जहाँ उपन्द्रले ओलीबाट संविधानमाथि ‘कु’ गरेको भन्न भ्याए । प्रतिगमनकारीमात्रै होइन, संविधान विरोधीको ट्याग समेत लगाए । केहि दिनअघि नागरिकता विधेयकमा समेत एमाले विपरित अर्थात पास हुनुपर्छ भन्ने पक्षमा उभिएका उपेन्द्रले राष्ट्रपतिको कदमलाई ‘जो रक्षक उहि भक्षक’को नाम दिएका थिए ।

अझ गज्जब त के छ भने, अहिलेसम्म पनि सरकारमा आफ्ना चार मन्त्रीलाई राखेर उनी २०७४ मा प्रचण्डले अंगालेकै बाटोमा छन् ।

हुनत् प्रचण्ड र उपेन्द्रबीचको सम्बन्धमा रोचक पक्ष के रह्यो भने, प्रचण्ड जुन जुन गठबन्धनमा हुन्थे उपेन्द्र छुटेको रेकर्ड थिए । प्रचण्ड गएको सरकारमा उपेन्द्र नगएको सायदै होला । तर यो निर्वाचनपछि त्यो भास्यमा ह्रास आएको छ ।

यता सत्ता गठबन्धनलाई विचारहिन लोभीपापीको झुण्ड मान्ने ओली आफू एक्लै चुनावमा जाने बताउँथ्ये । राप्रपासँग तालमेलको यसअघिबाटै चर्चा हुँदासमेत त्यसलाई केवल सहकार्यमा समेट्न उनले उपेन्द्रसँगको सहमतिलाई पनि जिल्ला तहको तालमेलका रुपमा मात्र अथ्र्याउने गरेका छन् ।

एमाले म्याराथन लड्ने पार्टी भएकोले जस्तोसुकै गठबन्धनसँग एक्लै लड्ने बताउने ओली अहिले साना दलको साथ खोज्दै हिडेका छन् । गठबन्धन र त्यसका नेताहरुमाथि बोली नै पिच्छे गाली गर्ने उनले केहिदिन अघिमात्रै ‘हुति नभएकाहरुले गठबन्धन गर्छन’ भनेका थिए । तर अहिले आफ्नै हुतिलाई तिलाञ्जली दिएर जसपा–राप्रपासहितको गठबन्धन बनाएका छन् ।

ओलीको सबैभन्दा भयंकर बद्लाव के हो भने, सत्ता गठबन्धनबाट टुक्रिएर आएको एक अवसरवादी पार्टीमा आफ्नो भविष्य देख्न थालेका छन् ।

यता सत्ताघटक दलको गठबन्धन कहिलेसम्म हो ? भन्नेमा पहिलेबाटै प्रश्न थियो । प्रधानमन्त्री बन्नुपर्ने सपनाहरुका बीचममा यो गठबन्धन चुनावपछिको सत्तोरहणमै भत्किने त हैन भन्ने धेरेको आशंका छ । किनकि दलहरुले नै यसको संकेत गरेका छन् । यहिबीचमा हिजोसम्म एमालेलाई साथ दिएको र म्यादी मन्त्री समेत खाएको लोसपालाई सत्ता गठबन्धनले कित्तामा सामेल गरेको छ । लोसपालाई ल्याउनुको उद्देश्य जसपा बाहिरिनुको भरपाई हो ।

स्थानीय तहको निर्वाचनमै कम्युनिष्टविरुद्ध कम्युनिष्ट देखिएकाले सिद्धान्तगत धुव्रीकरण सम्भव नरहे पनि संविधानको पक्षधर र विरोधीको आमने–सामने चुनावका रुपमा मंसिर ४ लाई लिइएको छ । तर खिचडी बनेको अहिलेको अवस्थाले यी सबै विश्लेषणलाई माथ खुवाएको छ भने केवल सत्तारोहणभन्दा माथि कुनै विचार र सिद्धान्त नहुने प्रमाणित गर्न दलहरु आफै क्रियाशिल छन् ।

प्रकाशित समय : ०८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु