गृहपृष्ठ प्रचण्डको तानातान : चितवनमै बस्ने कि न्याय खोज्न गोरखा जाने ?
प्रचण्डको तानातान : चितवनमै बस्ने कि न्याय खोज्न गोरखा जाने ?
नेपालीमा एउटा उखान छ, ‘न्याय नपाए गोरखा जानू’ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चितवनमा अन्याय भएपछि गोरखा जाँदैछन् । २०७४ को निर्वाचनमा नेकपा एमालेसँग बाम तालमेल गर्दै चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका प्रचण्ड यसपटक पनि त्यही निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारीमा थिए । तर केही महिनायता लगालग चलेको चितवन दौडले प्रचण्डलाई शुभ संकेत दिएको छैन । कार्यकर्ताकैबीचमा गएर बुझ्दा यसपटक मतदाताको मन भाँडिएको पाएपछि आफ्नो राजनीति जीवनै जोखिममा देखिरहेका प्रचण्डका लागि गोरखा उपयुक्त बनेको छ । यसैकारण सुरक्षित ठाउँको खोजिमा रहेका प्रचण्डलाई गोरखा २ पायक पर्ने भएको हो ।
तर प्रचण्डलाई नेताहरुले तानातान गरेका छन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा उम्मेदवार नबन्ने घोषणा गरेसँगै माओवादी केन्द्रका अध्यक्ष दाहाल गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने चर्चा चलिरहेको छ । भट्टराईले प्रचण्डलाई गोरखाबाट उम्मेदवार बन्न आग्रह गरेका छन् ।
भट्टराईको यो अभिव्यक्तिले दाहाल निवासमा चितवनका नेताहरूको डेलिगेसन गएको छ । चितवनका गठबन्धनमा रहेका पार्टीका नेताहरूले सामूहिक रूपमा पत्र बुझाएर चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवार बन्न आग्रह गरेका छन् ।
कांग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनालको नेतृत्वमा बसेको बैठकले दाहाललाई जिताउने प्रतिबद्धतासहित निर्णय गरेको र त्यो निर्णय खुमलटारमा बुझाइएको छ । जसमा कांग्रेसका खनाल, माओवादी केन्द्रका रामचन्द्र अधिकारी, एकीकृत समाजवादीका कृष्णराज न्यौपाने, जनमोर्चाका विष्णु पौडेल, जसपाका प्रेमराज भुजेलले हस्ताक्षर गरेका छन् ।
यता पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले निरन्तर दाहाललाई गोरखाबाट उम्मेदवार बन्न आग्रह गरिरहेको जानकारी दिए ।
गोरखामा प्रचण्ड सुरक्षित पनि छन् । स्थानीय तहको निर्वाचनमा ११ पालिकामध्ये माओवादी ८ पालिकाको नेतृत्व जितेको छ । नेपाली काँग्रेसले ३ पालिका जितेको छ । चितवनमा अनेक चुनौतीमा देखिएपछि यसैकारण प्रचण्ड गोरखा गएर आफैलाई न्याय दिने तयारीमा जुटेका हुन् ।
प्रकाशित समय : ००:२३ बजे



















