काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जनार्दनले बाँडे ४५ अर्ब

9.77K
shares

अर्थमन्त्री जनार्दन शर्माले निर्वाचनको मुखमै ४५ अर्ब रकम बाँडेका छन् । निर्वाचन घोषणा भएपछि मात्रै अर्थमन्त्रालयबाट ४५ अर्ब २८ करोड ८ लाख ४२ हजार रुपैयाँ निकासा भएको छ । यो रकमान्तर, स्रोतान्तर र थप निकासामार्फत वितरण गरिएको हो । यसलाई एकातिर निर्वाचनलाई प्रभावित पार्ने अस्त्र र अर्काेतिर कानुनको समेत गम्भीर उल्लंघनका रुपमा हेरिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३२ अनुसार आर्थिक वर्ष सुरु भएको पहिलो तीन महिनासम्म सरकारले रकमान्तर, स्रोतान्तर र थप निकासा गर्न पाउँदैन । तर शर्माले नीतिलाई तिलाञ्जली दिएर रकम बाँडेका छन् । जसमा प्रधानमन्त्री शेरबहादुर देउवाले समेत साथ दिएका छन् ।

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेलधुरामा महाकाली–बागबजार–उग्रतारा सडक स्तरोन्नतिका लागि २० करोड रुपैयाँ रातो किताबभन्दा बाहिरबाट दिइएको छ । सभामुख अग्निप्रसाद सापकोटाको गृहजिल्ला सिन्धुपाल्चोकको बलेफी–जलबिरे–तेम्बाथान सडक खण्डका लागि १५ करोड रुपैयाँ दिइएको छ । अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला रुकुम पश्चिममा चौरजहारी फुटबल रंगशाला निर्माणका लागि ११ करोड ४५ लाख रुपैयाँ वार्षिक बजेटभन्दा बाहिरबाट दिइएको छ ।

शर्माको जिल्लामै मुसिकोट तथा आठबिसकोट नगरपालिकाको सडक निर्माण, स्तरोन्नति र अन्य पूर्वाधार निर्माणका लागि भन्दै ४६ करोड ४० लाख रुपैयाँ दिइएको छ ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा पनि गैरबजेटरी निकासा दिइएको छ । सुर्खेतको जरे सुभाघाट–धुम्खरे–औंला–सुर्मा सडक स्तरोन्नतिका लागि भन्दै पैसा दिइएको छ । यसमा खर्च हुने २५ करोड रकमको स्रोत सहमति सहरी विकास मन्त्रालयको बजेटबाट व्यवस्थापन गर्न भनिएको छ । त्यस्तै सुर्खेतको झुप्राखोला–चरिपाटी–माईखोला सडकका लागि ४७ करोड रुपैयाँ मन्त्रालयको सिलिङभित्रैबाट कार्यान्वयन गर्ने गरी स्रोत सुनिश्चितता दिन भनिएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री इस्तियाक राईको जिल्ला बाँकेमा एउटै खोलामा पाँच ठाउँमा पुल बनाउन १ करोड १० लाख रुपैयाँ छुट्याइएको छ । उनलाई अन्य विभिन्न शीर्षकमा थप ८० लाख दिइएको छ ।

बाँकेमै फुटपाथ र आकाशे पुल बनाउन ४ करोड ५० लाख रुपैयाँ वार्षिक बजेटबाहिरबाट बाँडिएको छ । वीरगन्जको तामागढी–सिम्रनगढ सडकको मुआब्जा वितरणका लागि १५ करोड रुपैयाँ छुट्याइएको छ ।

काठमाडौंको गोठाटारमा वृद्धाश्रम बनाउन ३४ करोड ५६ लाख रुपैयाँ दिइएको छ । हुलाक निर्देशनालय सुर्खेतको कार्यालय भवन निर्माणका लागि ७ करोड ६० लाख रुपैयाँ रकमान्तर गरिएको छ भने नेसनल पेमेन्ट गेटवे बनाउनका लागि ८१ करोड १७ लाख रुपैयाँ गैरबजेटरी निकासा दिइएको छ ।

एमएमएलरसीएफ्टीको डिजाइन तथा विकासका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई १ करोड ९४ लाख रुपैयाँ गैरबजेटरी छुट्याइएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ६० मा लाख थप गरेर १० करोड रुपैयाँ गैरबजेटरी निकासा दिइएको छ ।

चुनावको मुखमै यस्ता धेरै शीर्षकमा अर्बाै बजेट बाँडिएपछि सरकारमाथि प्रश्न उठेको छ ।