‘नाडा इभी चौतारी’को आयोजना हुँदै
वि.सं.२०७९ असोज ५ बुधवार १६:३०
shares

नेपाली अटोमोबाइल व्यवसायीको छाता संगठन ‘नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल’को आयोजनामा नेपालमा नै पहिलो पटक इलेक्ट्रिक गाडी तथा टु-ह्विलर ‘नाडा इभी एक्स्पो’ यहि असोज ६ गतेदेखि ९ गतेसम्म भृकुटी मण्डप, प्रदर्शनी हलमा आयोजना हुने भएको छ ।
उक्त ‘नाडा इभी एक्स्पो’ चलिरहेको समयमा नै असोज ७ गतेदेखि ९ गतेसम्म प्रत्येक दिन दिउसो २ बजेदेखि ४ बजेसम्म युएसएआइडीको सहकार्यमा नाडा चौतारी सेमीनार पनि सञ्चालन हुने भएको छ । तीन दिनसम्म चल्ने सेमीनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकल सम्बन्धी चासो राख्ने विज्ञको सहभागिता रहने छ ।
इभी चौतारीको पहिलो दिन असोज ७ गते इभी टेक्नोलोजी एण्ड इकोसिस्टमको बारेमा छलफल हुनेछ । यस्तै, दोस्रो दिन ८ गते फाइनान्सीयल आस्पेक्ट अफ इभीको बारेमा विभिन्न विज्ञले आ-आफ्नो धारणा राख्नेछन् । र अन्तिम दिन ९ गते पोलिसीज फर प्रोमोटीङ इभीज भन्ने बिषयमा छलफल हुनेछ ।
यस कार्यक्रमले नेपालमा इलेक्ट्रिक गाडीको पोलिसी तहमा कार्य गर्ने नीति नियमदेखि लिएर यसका प्रयोगकर्ता, वातावरणविद तथा इलेक्ट्रिक टेक्नोलोजी र नेपालमा यसको उपयोग सम्बन्धमा चासो राख्ने सबैलाई एक स्थानमा जम्मा गरी ज्ञान बाड्ने चौतारी हुनेछ । कार्यक्रममा उपस्थितिको लागि नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले सबैलाई सहभागिताको लागि अनुरोध गरेको छ ।

























