याङ्ग्री र लार्केको पानी वितरणका लागि पाइप बिच्छ्याउन सुरु
वि.सं.२०७९ असोज ४ मंगलवार १७:१०
shares

मेलम्चीपछि याङ्ग्री र लार्के खोलाको पानी काठमाडौँ उपत्यकामा वितरणका लागि ठुला पाइप विच्छ्याउन थालिएको छ । सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दुरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि एक हजार छ सय र एक हजार आठ हजार मिलिमिटर (एमएम) का ठुला पाइप बिच्छ्याउन थालिएको हो ।
दोस्रो चरणमा याङ्ग्री र लार्केको पानी पनि ल्याउने तयारी भएसँगै पानी वितरणका लागि राजधानीमा ठुला पाइप बिच्छ्याउन थालिएको हो । पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलबाट चाबहिलसम्म विसं २०६९ मा एक हजार चार सय मिलिमिटरको पाइप बिच्छ्याइएको थियो । यो पाइपबाट दैनिक २२ करोड लिटर पानी पठाउन सकिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
दोस्रो चरणमा एक हजार ६०० र एक हजार ८०० मिलिमिटरका पाइप बिच्छ्याएपछि यसबाट दैनिक २९ करोड लिटर पानी ल्याउन सकिने निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार श्रेष्ठ पाँले जानकारी दिए ।
सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रबाट साढे दुई किमी नयाँ पाटीसम्म एक हजार ८०० मिलिमिटरको पाइप बिच्छ्याइने छ । साढे दुई किलोमिटर भन्दा तल चावहिलसम्म करिब आठ किमी दुरीमा भने एक हजार ६०० मिलिमिटरको पाइप बिच्छ्याइने छ । याङ्ग्री र लार्केको पानी आउनुअघि नै पनि मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आउने भएपछि ठुलो आकारको पाइप बिच्छ्याइएको उनले सुनाए ।
वर्षाका समयमा एउटा खोलाबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी ल्याउन सकिने जनाइएको छ । बिच्छ्याइए र लार्केको पानी राजधानी ल्याउन तयारी सुरु भएकै बेला निर्देशनालयले भने पाइप बिच्छ्याउन थालिसकेको छ ।
हवास उई कंकाई कम्पनी जेभीले पाइप बिच्छ्याउने कामको ठेक्का पाएको छ । सन् २०२१ अप्रिलदेखि सुरु भएको काम दुई वर्षमा सकिने सम्झौता भएको छ । दुई अर्ब ८८ करोडको लागतमा काम भइरहेको आयोजनाका सूचना अधिकारी श्रेष्ठले बताए । सुन्दरीजलबाट गोकर्णेश्वर महादेव मन्दिरमाथिको जगडोल डाँडासम्म जग्गा अधिग्रहण गरेर ठुला पाइप बिच्छ्याइएको छ । जगडोल डाँडाबाट चाबहिलसम्म भने सडकमा ठुला पाइप बिच्छ्याइने छ ।

























