काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हिमाली जडीबुटी खाएर हुर्केका भेडा-च्यांग्राको माग उच्च

चार दिन हिँडाएर पोखरा ल्याइँदै १२ हजार भेडा-च्यांग्रा

9.87K
shares

मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्यांग्रा पोखरा ल्याइने भएको छ । पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्यांग्राको राम्रै खरिद बिक्री हुने गरेको छ ।

हिमाली जडीबुटी खाएर हुर्केका भेडा तथा च्यांग्रा स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने विश्वासका कारण पोखरा र आसपासमा च्यांग्राको माग बढ्दो छ । पोखरामा मुस्ताङका साथै छिमेकी राष्ट्र चीनबाट पनि भेडा च्यांग्रा आउने गरेकोमा यस वर्ष कोराला नाका नखुलेका कारण त्यताबाट नआउने भएको छ ।

मुस्ताङसहित केही मात्रामा मुस्ताङ तथा डोल्पाबाट तथा भेडा च्यांग्रा आउनसक्ने भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका सूचना अधिकारी ऋषिराम पोखरेलले बताए । उनकाअनुसार यस वर्ष मुस्ताङबाट लगभग १२ हजार भेडा तथा च्यांग्रा आउनसक्ने देखिएको छ । च्यांग्राको बढ्दो मागसँगै मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, ल्होघेकर दामोदर कुण्ड, ल्होमन्थाङ गाउँपालिकामा च्यांग्राको व्यावसायिक पालन बढ्दै गएको उनले बताए ।

उनका अनुसार मुस्ताङको ल्होघेकर दामोदरकुण्ड गाउँपालिकामा स्थानीयवासीले करिब २० हजार भेडा तथा च्यांग्रा पालिरहेका छन् । त्यस्तै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा १६ हजारको संख्यामा भेडा तथा च्यांग्रा पालन गरिएको छ ।

उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिकामा करिब १० हजारको संख्यामा भेडा तथा च्यांग्रा पालन गरिएको सूचना अधिकारी पोखरेलले दिए । पछिल्ला वर्षमा ऊनको व्यापार कम हुँदै गएपछि यहाँ किसान भेडाभन्दा पनि च्यांग्रातिर आकर्षित बनेको देखिन्छ ।

ल्होघेकर दामोदरकुण्ड, वारागुङ मुक्ति क्षेत्र र ल्होमन्थाङ गाउँपालिकामा अधिकांश च्यांग्रा पालन भइरहे पनि मुस्ताङका थासाङ र घरपझोङ गाउँपालिकामा भने अधिकांश: भेडा पालन भइरहेको छ । सामान्यत: एउटा च्यांग्रा जन्मेको चार वर्षपछि बेच्न लायक हुने गरेको बताइएको छ ।

पोखरामा घटस्थापना पछि क्रमश: भेडा च्यांग्राको व्यापार हुने गरेको छ । भेडा तथा च्यांग्रा उच्च हिमाली क्षेत्रमा बस्ने भएकाले पोखरा ल्याउँदा हिँडाएर झार्नुपर्ने हुन्छ । मुस्ताङबाट पोखरासम्म हिँडाएर ल्याउनका लागि करिब चार दिन समय लाग्ने विगत केही वर्षयता भेडा तथा च्यांग्राको व्यापार गर्दै आएका सन्दीप गुरुङले बताए ।

मुस्ताङबाट झर्ने भेडा तथा च्यांग्राको जोमसोममा स्वास्थ्य परीक्षण गरेर पठाउने गरिएको पोखरेलले बताए । विगतमा मुस्ताङसहित मुगु, डोल्पा, चीनबाट ल्याइने गरिए पनि यस वर्ष चीनबाट आउने सम्भावना नभएपछि बजारमा माग पुर्‍याउन गाह्रो हुने देखिएको छ । हिमाली क्षेत्रमा जडीबुटी खाएर हुर्केको भेडा च्यांग्रा मासु स्वादिष्ट र स्वास्थ्यका लागि पनि  लाभदायी हुने भएकाले पोखरामा बर्सेनि यसकाे माग बढ्दो अवस्थामा रहेको गुरुङले बताए ।

अघिल्लो वर्ष पोखरामा दसैँको समयमा ६४ करोडको भेडा च्यांग्राको कारोबार भएको पोखरा महानगरपालिका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले बताए । पोखरामा च्यांग्राको व्यापार भोटमा नुन लिन जाने प्रचलनदेखि नै सुरु भएको मानिन्छ । तत्कालीन समयमा नुन लिनका लागि भोट जाने र फर्कदा हुनेखानेले दसैँका समयमा नुनसँगै च्यांग्रा पनि ल्याउने गरेको पाइन्छ ।

तत्कालीन समयका टुक्रे राज्यका शासकले दरबारमा हिमाली क्षेत्रका झारल, घोरल तथा च्यांग्राको मासु तथा सुकाएर सुकुटी खाने र आफ्नो रवाफ देखाउने प्रचलन रहेकोमा पछि विस्तारै सर्वसाधारण पनि यसतर्फ आकर्षित हुँदै गएको बुढापाका बताउँछन् ।