global ime bank Long Banner Ad

गृहपृष्ठ कहिले समाधान हुन्छ पटकपटक अवरुद्ध हुने विद्युत्‌को समस्या ?

कहिले समाधान हुन्छ पटकपटक अवरुद्ध हुने विद्युत्‌को समस्या ?

कहिले समाधान हुन्छ पटकपटक अवरुद्ध हुने विद्युत्‌को समस्या ?

खोटाङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको २२ वर्ष भयो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विसं २०५७ मा हेलिकप्टरमार्फत् दिक्तेल आएर उद्घाटन गरेको केन्द्रीय प्रसारण लाइनको विद्युत् अहिले जिल्लाका दशवटै स्थानीय तहमा विस्तार गरिएको छ ।

सुरूमा ११ केभी क्षमताको विद्युत् सञ्चालन गरिएको जिल्लामा छ वर्षअघि विसं २०७३ मा ३३ केभी क्षमतामा स्तरोन्नति गरिएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सबस्टेसन रहेको केन्द्रीय प्रसारण लाइनको विद्युत्‌मा अहिले जिल्लाका तीन वटा जलविद्युत् आयोजना जोडिएका छन् ।

साप्सुखोला जलविद्युत् आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना र मेवाखोला हाइड्रोपावर गरी १०.६ मेगावाट जलविद्युत् ३३ केभी केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट उत्पादन गरिएको साप्सुखोला जलविद्युत् आयोजना ६.६ मेगावाट, केपिलासगढी गाउँपालिका–६ दिप्सुङ र वडा नम्बर ७ सुङ्देलको सिमानामा पर्ने रावाखोलाबाट तीन मेगावाट र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मेवाखालाबाट एक मेगावाट क्षमताको जलविद्युत् बुइँपा–जलजले प्रसारणलाइनमा जोडिएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा अहिले तीन मेगावाट क्षमताको विद्युत्मात्र खपत भइरहेको नेपाल विद्युत् प्राधिकरण खोटाङले जनाएको छ । विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रको तथ्यांक शाखाले दिएको जानकारीअनुसार जिल्लामा अहिले २२ हजार दुई सय ८२ विद्युत् उपभोक्ता रहेका छन् ।

जिल्लामा उत्पादित विद्युत्‌मध्ये तीन भागमा एक भाग पनि खपत भएको छैन । जिल्लामा विस्तार गरिएका केन्द्रीय प्रसारण लाइनको विद्युत् पटकपटक अवरुद्ध हुँदा विद्युत् उपभोक्ता हैरानीमा परेका छन् । यतिसम्म कि, जिल्लामा अलि बढी पानी पर्दा, अलि ठुलो हावा चल्दा र बाढीपहिरो आउनासाथ विद्युत् अबरुद्ध हुने गरेको छ ।

एकै दिनमा दर्जनौँ पटक विद्युत् आउने र जाने समस्याले जिल्लाका सेवाग्राही मारमा परेका छन् । झ्याप्प आउने र झ्याप्प जाने केन्द्रीय प्रसारण लाइनको विद्युत्‌ले विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको गुनासो छ ।

पटकपटकको विद्युत् अबरुद्धबारे नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलिप खत्रीको नेतृत्वमा गत भदौ–१ गते जिल्लास्थित क्रियाशील पत्रकारले दिक्तेल वितरण केन्द्रका प्रमुख इञ्जिनियर विजयराज रेग्मीलाई भेटेर अनियमित विद्युत्‌लाई नियमित गराउन ध्यानाकार्षणसमेत गराएका छन् । पटकपटक विद्युत् अबरुद्ध हुँदा समाचार सम्प्रेषणमा समस्या भएको भन्दै तत्काल दीर्घकालीनरुपमा समस्या समाधान गर्न प्राधिकरणको ध्यानाकर्षण गराइएको अध्यक्ष दाहालले बताए ।

लामो दुरी, जंगलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जानाले पटकपटक विद्युत् अवरुद्ध विद्युत् हुने गरेको विद्युत् प्राधिकरणले बताउँदै आएको छ । पटकपटक अवरुद्ध हुँदै आएको विद्युत् सञ्चालनमा ल्याउन प्राधिकरणले सम्बन्धित क्षेत्रमा प्राविधिक टोली तत्कालै पठाए पनि विभिन्न बहानामा उनीहरु फोन सम्पर्क नहुने ठाउँ गएर बस्ने गरेका समाचार स्रोतले दाबी गरेको छ ।

दिक्तेल–गाईघाट प्रसारण लाइन लामो दूरी भएकै कारण जिल्लामा विस्तार गरिएका विद्युत्‌मा पटकपटक समस्या आउने गरेको वितरण केन्द्रका प्रमुख रेग्मीले बताए । ‘मौसममा खराबी आउनासाथ ठाउँठाउँमा अवरुद्ध हुने गरेको छ,’ उनले भने, ‘लामो समयदेखि पटकपटक हुँदै आएको समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न लागिपरेका छौँ । लामो दुरी र जंगलको बाटो भएका कारण समाधान भएको छैन ।’

जिल्लामा विद्युत्‌का समयमा अवरुद्ध भएको विद्युत् सञ्चालनमा ल्याउन प्राधिकरणले कतिपय सयमा हप्ता दिनसम्म लगाउने गरेका छन् । विद्युत्‌का समयमा विद्युत् अवरुद्ध नहोस् भनेर प्रसारणलाइन वरपर रहेको झाडी फाँड्ने र ठाउँठाउँमा प्राविधिक टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

जंगलको बाटो भएर उदयपुरको जलजलेबाट खोटाङको बुइँपामा ल्याएर सबस्टेसनमा जोडिएको विद्युत् खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा विस्तार गरिएको छ । तीन जिल्लामा विस्तार गरिएको ३३ केभी प्रसारण लाइनको विद्युत् पटकपटक अवरुद्ध हुने समस्या देखिएपछि खोटेहाङ गाउँपालिका–९ लिच्की राम्चेस्थित बागेढुंगामा तीन एमबीए क्षमताको सबस्टेसनसमेत सञ्चालन गरिएको छ ।

जिल्लाका दुई ठाउँमा सबस्टेसन हुनुका साथै जिल्लामै उत्पादन गरिएको विद्युत् तीन भागभन्दा बढी खेर गए पनि जिल्ला विद्युत्‌भार कटौतीमुक्त हुन सकेको छैन । विद्युत् विस्तार भएका कतिपय ठाउँमा कम भोल्टेज आउने, भनेको समयमा विद्युत् नआउने, बढी समयसम्म विद्युत्‌भार कटौती हुने, हावाहुरी तथा पानी पर्दा अवरुद्ध भएको विद्युत् लामो समयसम्म मर्मत गर्न नआउने जस्ता समस्या यथावत रहेको छ ।

जिल्लाका तीन वटा जलविद्युत् केन्द्रीय प्रसारणलाइन अवरुद्ध हुनेबित्तिकै उत्पादन बन्द हुने विद्युत् प्राधिकरणले जनाएको छ । तीनवटै जलविद्युत् आयोजनाले केन्द्रीय प्रसारण लाइन बन्द भएको समयमासमेत जिल्लामा नियमित विद्युत् प्रसारण हुने बताएको थियो ।

जिल्लामा उत्पादन गरिएका तीनवटै विद्युत्‌मा जेनेरेटर नरहेकाले समस्या भएको प्राधिकरणले जनाएको छ । जिल्लामा उत्पादित विद्युत्‌लाई केन्द्रीय प्रसारणलाइन नभएको समयमा जोड्न प्राधिकरणले नै अनुमति नदिएको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाका प्रवर्द्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिका सञ्चालक मुक्ति तिम्सिनाले बताए ।

खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा विस्तार गरिएको ३३ केभी विद्युत प्रशारणलाइन स्तरोन्नति नरेसम्म अहिले भोग्दै आइएको समस्या रहिरहने उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए । ‘कमजोर संरचनामा थेग्नै नसक्नेगरी ३३ केभी क्षमताको विद्युत प्रशारणलाइन विस्तार गरिएको छ,’ उनले भने, ‘जबसम्म स्तरोन्नति गरिँदैन, तबसम्म यही नियति भोग्नुपर्ने देखिन्छ । यसप्रति सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।’

पटकपटक अवरुद्ध हुँदै आएको केन्द्रीय प्रशारणलाइनको विद्युत् मर्मत गर्नेक्रममा यही भदौ–१९ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित डाँडागाउँका ४० वर्षीय ज्यालादारी कर्मचारी नवीन्द्र राईको ज्यान गएको छ । बुइँपास्थित छापगाउँमा विद्युत् मर्मत गरेर फर्कने क्रममा भर्‍याङले तार छुँदा करेन्ट लागेपछि गम्भीर घाइते भएका राईको बुइँपाकै सनराइज अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।

मृतक परिवारलाई विद्युत् दुर्घटना क्षतिपूर्ति विनियमावली २०६७ बमोजिम अधिकतम क्षतिपूर्ति उपलब्ध गराउने र मृतककी श्रीमतीलाई रोजगारीको व्यवस्था गर्ने सहमतिमा आफन्तले शव बुझेका छन् । मृतक नवीन्द्रको श्रीमती र दुई छोरा छन् ।

एघार केभी क्षमताको विद्युत् लाइन मर्मत गर्नेक्रममा विसं २०७० चैत १६ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३७ वर्षीय हरिकाजी ढुंगानालाई करेन्ट लाग्दा दुवै हात र एउटा खुट्टा गुमाएका छन् । काठमाडौँको बीएण्डबी अस्पतालमा उपचार गराइएको ढुंगानाको डाक्टर शन्त माथेमासहितका चिकित्सकले दुवै हात र एउटा दाँहिने खुट्टा काम नलाग्ने भएपछि काटेर फालिदिएका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–१० नवलपुरस्थित बर्खेटारमा अवरुद्ध विद्युत् मर्मत गर्नेक्रममा करेन्ट लागेर अपांग बनेका हरिकाजीका बुबाआमा दुवै ८५ वर्ष नाघेका छन् । सम्पत्तिका नाममा केही पाखोबारी मात्र भएको हरिकाजीका घरमा बुबाआमा, श्रीमती, बहिनी, एक छोरी र एक छोरा छन् । विद्युत् मर्मत गर्नेक्रममा खोटाङमा मात्रै आधा दर्जनभन्दा बढी ज्यालादारी प्राविधिक कर्मचारीको ज्यान गइसकेको छ । धेरै प्राविधिक कर्मचारी अंगभंग भएर अरुका भरमा जीवन कटाइरहेका छन् ।

केन्द्रीय प्रसारण लाइनको विस्तार भए पनि जिल्लाका धेरै ठाउँमा बसोबास गर्ने स्थानीय बासिन्दाले भने लघुजलविद्युत् आयोजनाकै भरमा छन् । सस्तो, भरपर्दो र स्थानीय बासिन्दालाई गाउँमै रोजगारीको बन्दोबस्तसमेत भएपछि लघुजलविद्युत्प्रति उनीहरुको आकर्षण कायम रहेको हो ।

प्रकाशित समय : २१:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु