global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रपतिसँग प्रदेश सभामुख र उपसभामुखको बिदाइ भेट

राष्ट्रपतिसँग प्रदेश सभामुख र उपसभामुखको बिदाइ भेट

राष्ट्रपतिसँग प्रदेश सभामुख र उपसभामुखको बिदाइ भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रदेशसभाका सभामुख र उपसभामुखले बिदाइ भेट गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार भएको भेटमा राष्ट्रपति भण्डारीले उनीहरूलाई सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रको सेवालाई गुणस्तरीय तुल्याउने कार्यमा सहयोग पुर्‍याउन सुझाव दिइन् ।

उनले भनिन्, ‘राज्यको ढुकुटीको ठूलो हिस्सा सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रमा जान्छ, त्यसको निगरानी गर्न र जनतालाई गुणस्तरीय सेवा दिनेलगायत सामाजिक कार्यमा लाग्नुस् ।’

राष्ट्रपति भण्डारीले जनप्रतिनिधिका रूपमा काम गर्ने अवसर प्रदान गर्ने दल र आममतदातालाई धन्यवाद ज्ञापन गर्न सल्लाह दिँदै पुनः जिम्मेवारी प्राप्त गर्ने वा के गर्ने भन्नेमा चिन्ता नलिई ढुक्कका साथ सामाजिक काममा सक्रिय हुन सुझाव दिएकी थिइन् ।

यस अवसरमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनकै संयोजनमा काठमाडौंमा आयोजित स्वास्थ्य सतर्कतासम्बन्धी कार्यक्रम तथा प्रदेश सभामुख र उपसभामुखले प्रदेश नं १ को आयोजनामा धनकुटामा भएको आफ्नो कार्यकालको समीक्षाको निष्कर्ष प्रस्तुत गरे ।

उनीहरूले प्रदेशको अभ्यास नयाँ संरचना भए पनि विविध चुनौतीका बीच सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको बताएको राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँलले जानकारी दिए । बिदाइ भेट गर्न पाँच प्रदेशका सभामुख र उपसभामुख तथा लुम्बिनी प्रदेशका उपसभामुख शीतलनिवास पुगेका हुन् । उक्त बिदाइ कार्यक्रममा मधेस प्रदेशका सभामुख र उपसभामुख भने उपस्थित थिएनन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मंसिर ४ गते घोषणा भइसकेको छ । साथै आगामी असोज १ गतेदेखि कार्यकाल समाप्त हुन लागेका बेला उनीहरूले राष्ट्रपतिसँग बिदाइ भेट गरेका हुन् ।

प्रकाशित समय : ०८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु