एएफसी यु-२० फुटबल : नेपाल भुटानसँग पराजित
वि.सं.२०७९ भदौ २६ आइतवार ०८:२८
shares

एएफसी यु-२० एसियन कपको छनोटअन्तर्गत पहिलो खेलमा नेपाल भुटानसँग २-० ले पराजित भएको छ । बहाराइनमा शनिबारदेखि सुरु भएको समूह ‘बी’को छनोटमा नेपालले अप्रत्यासित हार ब्यहोरेको हो ।
शनिबार राति भएको खेलको ३३औं मिनेटमा सोनामले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफको सुरुआतमै दोस्रो गोल खायो ।
४७औं मिनेटमा कर्मा टासीले गोल गर्दै भुटानको अग्रता दोब्बर पारेका थिए । त्यसपछि निरन्तर खेलमा फर्किने प्रयास गरे पनि नेपाल सफल हुन सकेन । विपक्षी खेलाडीमाथि खराब फाउल गरेका कारण इन्जुरी समयमा अविशेक वाइबाले रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिनु परेको थियो ।
जितसँगै भुटानले तीन अंक जोडेको छ । हारसँगै छनोटको सुरुआत गरेको नेपालको भने चुनौती थपिएको छ । समूह ‘बी’मा रहेको नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगलादेश छन् ।

























