१७ संस्थालाई कर बुझाउन काठमाडौं महानगरको दश दिने अल्टिमेटम
वि.सं.२०७९ भदौ २२ बुधवार ०९:४३
shares

काठमाडौं महानगरपालिकाले १७ वटा विभिन्न संस्थालाई कर बुझाउन दश दिने अल्टिमेटम दिएको छ ।
महानगरपालिकाको राजस्व विभागले मंगलबार १७ वटा विभिन्न संस्थालाई पत्र लेख्दै कर बुझाउन अल्टिमेटम दिएको हो । सम्पत्ति कर नबुझाएको भन्दै महानगरले पटकपटक ताकेता गर्दा पनि कर नबुझाएको महानगरको भनाइ छ ।
उनका अनुसार पत्र प्रप्त भएको दश दिनभित्र विवरणसहित सम्बन्धित वडा कार्यालयमा कर बुझाउन ताकेता गरिएको हो ।
महानगरले खाद्य संस्थान, थापाथली, हाइट फिल स्कूल–नयाँबजार, रञ्जना ट्रेड सेन्टर–न्युरोड, साझा भण्डार–भोटाहिटी, राष्ट्रिय नाचघर–जमल, चेम्बर अफ कमर्स–जमल, कर्मचारी सञ्चय कोष–ठमेल, नेपाल विद्युत प्राधिकरण–रत्नपार्क र नेसनल ट्रेडिङ लिमिटेड–सिंहदरबारलाई पत्र लेखेको हो ।
यस्तै, महानगरले नेपाली जामे मस्जिद–बागबजार, कृषि सामग्री संस्थान–टेकु, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल–स्वयम्भू, आरबि कम्प्लेक्स–न्युरोड, काठमाडौं प्लाजा–पुतलीसडक, नेपाल सेयर मार्केट–पुतलीसडक, सिविक हस्पिटल प्रालि र डेन्टल कलेज–सामाखुसीलाई पनि पत्र लेखेको छ।
यी संस्थाले कर नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।


























