global ime bank Long Banner Ad

गृहपृष्ठ नयाँ नोट भदौ २९ देखि उपलब्ध गराइने

नयाँ नोट भदौ २९ देखि उपलब्ध गराइने

नयाँ नोट भदौ २९ देखि उपलब्ध गराइने

दशैंका लागि राष्ट्र बैंकले भदौ अन्तिम सातादेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ । भदौ २६ देखि बैंक तथा वित्तीय संस्था र २९ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने आन्तरिक तयारी गरिएको मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।

गत वर्षजस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा छ । यो ५ देखि १ सय रुपैयाँसम्मको एकएक बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिनेछ ।

चालु आर्थिक वर्षभर नै राष्ट्र बैंकले आफ्ना कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट वितरण गरिरहेको छ । यद्यपि दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउन थालेको छ ।

राष्ट्र बैंकसँग पर्याप्त नोट स्टकमा रहेको र नागरिकको माग पनि सम्बोधन गर्नुपर्ने भएकाले भदौ २६ देखि सूचना नै जारी गरेर नयाँ नोट वितरण गरिने नेपालले बताए ।

कोभिडका कारण अघिल्ला दुई वर्ष नयाँ नोट नबाँडेको राष्ट्र बैंकले गत वर्ष सर्वसाधारणका लागि नोट वितरण गरेको थियो । गत वर्ष राष्ट्र बैंकले असोज ४ देखि बैंक तथा वित्तीय संस्थालाई र दसैंको १५ दिन अघिदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गरेको थियो ।

दशैं र तिहारमा हरेक वर्ष ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ ।

प्रकाशित समय : ०७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु