प्रधानमन्त्री देउवा राष्ट्रसंघको महासभामा सहभागी नहुने
वि.सं.२०७९ भदौ २१ मंगलवार ०७:१७
shares

अमेरिका भ्रमणको गृहकार्य गरे पनि दुई मुलुकबीचमा मिति तय नभएपछि रोकिएका प्रधानमन्त्री शेरबहादुर देउवा आगामी संयुक्त राष्ट्र संघ (यूएन) को ७७ औं महासभामा सहभागी हुन नजाने भएका छन् ।
गत वर्ष नयाँ सरकार बनेपछि प्रधानमन्त्री देउवाले यही वर्षको असारको अन्त्य वा साउनको पहिलो साता अमेरिका भ्रमण गर्ने गरी परराष्ट्र मन्त्रालयले गृहकार्य गरेको थियो । तर संयोग हो वा होइन, त्यसबीचमा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नेपालले असार ६ गते अस्वीकार गर्ने निर्णय गर्यो, त्यसपछि प्रधानमन्त्री देउवाको वासिङ्टन डीसीको भ्रमणको योजना अघि बढ्न सकेन ।
त्यसपछि प्रधानमन्त्री देउवा यूएनको महासभामा अमेरिका जाने र त्यही बेलामा द्विपक्षीय भ्रमण पनि गर्ने गृहकार्य पनि भएको थियो । ‘तर नेपालमा निर्वाचनको मिति तय भइसकेको र अमेरिकाबाट पनि द्विपक्षीय भ्रमणको बारेमा कुनै पनि ठोस मिति नआएपछि महासभामा नजाने भएको हुन्,’ परराष्ट्र स्रोतले भन्यो ।
प्रधानमन्त्री देउवा महासभामा नजाने बालुवाटारबाट जानकारी आएपछि परराष्ट्र मन्त्री नारायण खड्काले यस पटक पनि न्युयोर्क गएर नेपालको तर्फबाट सम्बोधन गर्ने गरी परराष्ट्र मन्त्रालयको गृहकार्य भएको हो ।

























