काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भक्तपुरमा क्याथल्याबसहित मुटुरोग उपचार सेवा सञ्चालन गर्न मुख्यमन्त्रीको आग्रह

945
shares

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरमा क्याथल्याबसहितको मुटुरोग उपचार सेवा सञ्चालन गर्न आवश्यक रहेको बताएका छन्। उनले मध्यपुरथिमिस्थित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताललाई यस्तो सेवा सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

आइतबार अस्पतालको अनुगमनका क्रममा मुख्यमन्त्री थापामगरले हृदयाघातका बिरामीको ज्यान बचाउन समयमै उपचार आवश्यक हुने भएकाले भक्तपुरमै मुटुरोग उपचार सेवा उपलब्ध हुनुपर्ने बताए।

‘भक्तपुरमा मुटुरोगको उपचार सुरु गर्न अत्यावश्यक छ। त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्छ,’ उनले भने, ‘यस अस्पतालमा क्याथल्याब सेवा सञ्चालन गर्नुस्।’

उनले प्रत्येक नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने उल्लेख गर्दै त्यसको व्यवस्था गर्नु सरकार र स्वास्थ्य संस्थाको समान दायित्व भएको बताए।

अनुगमनका क्रममा मुख्यमन्त्री थापामगरले अस्पतालबाट प्रवाह भइरहेका सेवाबारे जानकारी लिनुका साथै बिरामीसँग भेटेर उपचार सेवा र उनीहरूको सन्तुष्टिबारे समेत बुझेका थिए।

अस्पतालका स्वास्थ्य निर्देशक डा. डीके रौशनले अस्पतालले उपलब्ध गराउँदै आएका सेवा र निर्माणाधीन नयाँ भवनबारे मुख्यमन्त्रीलाई जानकारी गराए। उनले अस्पताललाई एक सय शय्यामा विस्तार गर्न प्रदेश सरकारसँग अनुमति माग गरिएको बताए।

दक्षिण कोरिया सरकारको सहयोगमा निर्माण भइरहेको नयाँ भवन अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले अस्पतालमा बिरामीको चाप बढिरहेको बताए। उनका अनुसार अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।

‘देशभरबाट आउने बिरामीको चाप बढिरहेको छ। अस्पताललाई एक सय शय्यामा सञ्चालन गर्न अनुमति माग गरेका छौँ,’ उनले भने।

अस्पतालका प्रशासन प्रमुख रुपेश श्रेष्ठले पनि अस्पतालले सञ्चालन गरेका सेवा तथा हालसम्मका कार्यप्रगतिबारे मुख्यमन्त्री थापामगरलाई जानकारी गराएका थिए।