गृहपृष्ठ जलवायु संकटकाल घोषणा गर्ने तयारी
जलवायु संकटकाल घोषणा गर्ने तयारी
वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाललाई ‘जलवायु संकटकाल’ घोषणा गर्ने गरी तयारी भइरहेको बताएका छन् । जलवायु परिवर्तनसम्वन्धि राष्ट्रसंघीय सम्मेलन (कोप २७) को पूर्व तयारीबारे सरोकारवाला निकायहरुसँग आयोजित छलफलमा मन्त्री यादवले जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले नेपाललाई जलवायु संकटकाल घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरे ।
‘जलवायु परिवर्तनका असर सबैतिर देखिने गरी पर्न थालेको छ । जुन प्रकारले नेपालको हिमाल, कृषि, पानीलगायतको क्षेत्रलाई असर गरिरहेको छ । नेपाललाई जलवायु संकटकालको पनि हामी घोषणा गर्ने छौं, ’ मन्त्री यादवले भने, ‘संकटमै पुगेको घोषणा गरिए विश्वको ध्यान खिच्न सकिन्छ ।’ सरोकारवाला निकायहरु र विज्ञहरुसँगसमेत छलफल गरेर नेपाल जलवायु संकटमा पुगेको घोषणा गरिने मन्त्री यादवको भनाइ थियो ।
मन्त्री यादवले संकटकाल घोषणाको तयारी भइरहेको बताएपछि जलवायु वैज्ञानिकहरुले घोषणा गर्ने मोडालिटी खोज्न मन्त्रालयलाई सुझाएका छन् । उनीहरुले जलवायु संकटकाल र जलवायु संकट घोषणा गरिरहँदा तथ्यमा आधरित प्रमाणमा जोड दिन आग्रह गरेका छन् । कार्यविधि र नियम बनाएर मात्रै जलवायु संकटकाल घोषणा गर्नुपर्नेमा उनीहरुले बताएका छन् ।
प्रकाशित समय : ०७:१९ बजे

















