गृहपृष्ठ राज्यले कला र संस्कृतिलाई महत्व दिन सकेन : नेत्री कोइराला
राज्यले कला र संस्कृतिलाई महत्व दिन सकेन : नेत्री कोइराला
नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले राज्यले कला र संस्कृतिलाई महत्व दिन नसकेको गुनासो गरेकी छन् ।
गिरिजाप्रसाद कोइराला फाउन्डेशन, कला तथा संस्कृति विभागले नेपाल कला परिषद् बबरमहलमा आयोजना गरेको ‘कला प्रदर्शनी’को उद्घाटन गर्दै उनले कला र संस्कृतिको विकासका लागि सरकारले काम गर्न नसकेको गुनासो गरिन् ।
‘कला, संस्कृतिको विकास भएमात्र देशको विकास हुन्छ,’ उनले भनिन् । नेत्री कोइरालाले जीपी कोइराला फाउन्डेशनले विगत चार वर्षदेखि छुट्टै विभाग स्थापना गरी कला र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै आइरहेको उल्लेख गरिन् । कलाकारभित्र लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउनका लागि कला प्रदर्शनीले सहयोग पुग्ने उनको भनाइ थियो ।
फाउन्डेशनकी अध्यक्ष कोइरालाले जीपी कोइराला फाउन्डेशनले विगत १२ वर्षदेखि खोज, अनुसन्धान र सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको स्पष्ट पारिन् । उनले पछिल्लो समय मुलुकमा प्रविधिको प्रयोग बढे पनि इतिहासलाई संरक्षण र सम्बर्द्धन गर्नका लागि यस्ता प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले राज्य कला र संस्कृतिको सम्मान राज्यले गर्नुपर्ने बताए । ‘जुन देशमा कला र संस्कृतिमा सम्मान र लगानी हुन्छ, त्यो देश सम्पन्न भएको ठहरिन्छ,’ उनले भनिन् । संस्कृति भएन भने देशको पहिचान गुम्ने उनको भनाइ थियो । अध्यक्ष थापाले आफ्नो माउ पार्टी कांग्रेस र संसद्मा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने बताए ।
प्रकाशित समय : ०६:३५ बजे



















