गृहपृष्ठ पहिरोले मकवानपुरका अधिकांश सडकखण्ड अवरुद्ध

पहिरोले मकवानपुरका अधिकांश सडकखण्ड अवरुद्ध

पहिरोले मकवानपुरका अधिकांश सडकखण्ड अवरुद्ध

गए रातिको वर्षाका कारण आएको पहिरोले मकवानपुरका विभिन्न स्थानमा सडकखण्ड अवरुद्ध भएका छन् । वर्षासँगै आएको पहिरोका कारण सिस्नेरी सडकखण्ड र कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्लाको सिस्नेरी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ भाल्टारमा राति आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरोका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्ग भएर सञ्चालन हुने सवारीसाधन रातिदेखि नै वैकल्पिक सडक प्रयोग गरेर सञ्चालन भइरहेको कार्यालयका इन्स्पेक्टर प्रतिमा कार्कीले जानकारी दिइन् ।

यस्तै पहिरो जाँदा कान्तिराजपथ सडकखण्ड पनि अवरुद्ध भएको छ । हेटौँडाबाट ललितपुर हुँदै काठमाडौँ जोड्ने उक्त सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हेटौँडाबाट काठमाडौँ जोड्ने सडकखण्डअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राति वर्षासँगै आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

यस्तै उक्त सडकखण्डअन्तर्गत मकवानपुरगढी गाउँपालिकाको बगुवा खोलामा पनि पहिरो गएको छ । उक्त सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ ।

बर्खायाम लागेसँगै विभिन्न स्थानमा पहिरोका कारण यातायात अवरुद्ध हुने गरेको छ । डीएसपी टेकबहादुर कार्कीका अनुसार जिल्लाको त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र कुलेखानी–फाखेल सडकखण्डमा भने सवारीसाधन सञ्चालनमा रहेको छ ।

प्रकाशित समय : १०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु