गृहपृष्ठ रामदीपका संसद आउने तीन पक्ष
रामदीपका संसद आउने तीन पक्ष
आगामी मसिंर ४ गते संघ र प्रदेशको चुनाव हुँदैछ । राजनीतिक दलका नेताहरु चुनावी तयारीमा जुट्न थालिसकेका छन् । चुनावी तयारीमा जुट्ने केही नयाँ त केही पुराना अनुहारहरु छन् ।
त्यस मध्येका एक हुन्- नेकपा माओवादी केन्द्रका नेता रामदीप आचार्य । विद्यार्थी कालदेखि राजनीति सुरु गरेका आचार्य पहिलो पटक संसदमा आउने सुरमा छन् । कर्णाली प्रदेशमा पार्टी संगठन चलाइसकेका र हालका माओवादी केन्द्रका केन्द्रीय सदस्य आचार्य यसपटक भने संसद पस्ने तयारीमा छन् ।
उनले आफू पनि आगामी निर्वाचनको तयारीमा रहेको बताएका हुन् । उनले समाजको आवश्यकता र पार्टीले टिकट दिए आगामी चुनाव लडेर संसद पस्ने बताए ।
माओवादी केन्द्रभित्र वाैद्धिक नेताका रुपमा देखिएका आचार्यले संसद तीन पक्षले आउने बताए । ‘पहिलो, व्यक्तिगत इच्छाशक्ति । दोस्रो, समाजको आवश्यकता । र, तेस्रो भनेकाे पार्टीको निर्णय । यिनै कारणले म संसद प्रवेश गर्ने साेचमा पुगेकाे हुँ,’ उनले भने । यी तीनमध्ये पहिलो र दोस्रो पक्षमा आफू प्रतिबद्ध रहेकाे तर तेस्रो भने आफ्नो हातमा नरहेकाे उनले बताए ।
गत निर्वाचनमा नेकपा माओवादी केन्द्रका शीर्ष नेता शक्तिबहादुर बस्नेतले चुनाव लडेको क्षेत्र जाजरकोटबाट चुनाव लड्ने सोचमा छन् आचार्य । उनी प्रदेशमा आउँछन् कि संघमा ? यो भने बताएनन् ।
तर, पार्टीले टिकट दिए आफ्नो गृह जिल्ला जाजरकोटबाट चुनाव लड्ने उनकाे मनसाय छ । युद्धदेखि शान्तिसम्म माओवादको राजनीति बुझेका आचार्यलाई आफ्नो आधार इलाकामा माओवादी केन्द्रले टिकट दिए जित्ने सम्भावना पनि छ । तर, अबकाे निर्वाचनमा गठबन्धनका कारण उनी ब्याक हुन पनि सक्छन् ।
प्रकाशित समय : १८:४२ बजे



















