global ime bank Long Banner Ad

गृहपृष्ठ सम्पादकीय : मत किन्छौँ कि मन जित्छौँ ?

सम्पादकीय : मत किन्छौँ कि मन जित्छौँ ?

सम्पादकीय : मत किन्छौँ कि मन जित्छौँ ?

फेरि चुनाव आउँदै छ ।

मतदाताले यसपटक उम्मेदवारलाई सोध्नैपर्ने पहिलो प्रश्न-‘चुनावमा तपाईंले गर्ने खर्चको स्रोत के हो ?’

एकपटक हालैको स्थानीय निर्वाचनमा फर्कौँ । केही अपवाद बिर्सने हो भने स्थानीय तह निर्वाचनमा भाग लिएका अधिकांश उम्मेदवारले निर्वाचन आयोगमा खर्चको जानकारी दिन सकेनन् । चाहेनन् ।

यसले दोहोरो संकेत गर्छ । पहिलो, जनताका लागि काम गर्छु भनेर शपथ खाने जनप्रतिनिधि नै कानुनी शासनलाई मजाक बनाउने प्रतिनिधि रहेछन् भन्ने पुष्टि भयो । अर्को भनेको चुनावमा अधिकांश जनप्रतिनिधिका उम्मेदवारले गर्ने खर्चको स्रोत अपारदर्शी रहेछ भन्ने प्रष्ट भयो । ‘कालो धन’को बलमा उनीहरू चुनावी मैदानमा ओर्लदा रहेछन् । हाम्रो चुनाव प्रणालीको यो सबैभन्दा खतरनाक पक्ष हो ।

आगामी मंसिर ४ मा संघीय संसद् र प्रदेशसभाको निर्वाचन हुँदै छ । निश्चित छ, यो निर्वाचनमा पनि कतिपय उम्मेदवारले पैसाको खोलो बगाउने छन् । चुनाव जित्नका लागि मतदाताको मन हैन, धनको बल देखाउनका लागि उनीहरूले हरसम्भव उपाय खोज्ने छन् । प्रश्न गर्नेले प्रश्न गरी नै रहने छन् । तर, हाम्रो शासकीय मानसिकता यति कमजोर छ कि उनीहरू यसको जबाफ दिने कुरालाई सोझै अवज्ञा गर्न पछि पर्ने छैनन् ।

निर्वाचनलाई खर्चिलो, भड्किलो र रंगिलो बन्न नदिनका लागि निर्वाचन आयोग नै सजग हुनुपर्ने हो । तर, राजनीतिक नेतृत्वको प्रदक्षिणा गरेर नियुक्ति पत्र लिएको आयोगको नेतृत्वबाट निर्वाचनमा कालो धनको उपयोग हुनबाट रोकिन्छ भन्ने अपेक्षा गर्न सकिन्न । जबसम्म यस्तो अपेक्षा गर्न सकिन्न तबसम्म न हाम्रो निर्वाचन प्रणालीमा सुधार हुने छ न त अपारदर्शी पैसा खर्चेर निर्वाचन जित्नेहरूबाटै देश र जनताले कुनै अपेक्षा गर्न सक्ने छन् ।

हेक्का रहोस्, चुनावमा हुने कालो धन नै भ्रष्टाचारको जननी हो । नत्र त आमजनता र मुलुकको आर्थिक स्वास्थ्य कमजोर भइरहेको बेला चुनावमा जिब्रो टोक्ने गरी हुने पैसाको स्रोत किन कहिल्यै कसैले खोल्न चाहँदैन ?

हाम्रा राजनीतिक दलले चुनावमा गर्ने खर्च कसरी जुटाउँछन् ? अहिलेसम्म जबाफ प्राप्त हुन नसकेको प्रश्न हो यो । उम्मेदवारहरू ‘चन्दा’ को कुरा त गर्छन् तर त्यो चन्दा कहिले, कसले कति दिएको भन्ने कुरा जहिले पनि लुकाउन चाहन्छन् । उम्मेदवारलाई त्यस्तो चन्दा पनि किन कसैले दिन्छ ? के त्यो चन्दाभित्र कुनै स्वार्थ हुँदैन ? यसको जबाफ खोजेको धेरै भयो । तर, प्रश्न अझै पनि अनुत्तरित नै छ ।

अनुत्तरित प्रश्नकै कारण चुनाव जित्नुअघि नै राजनीतिक दल र उम्मेदवारहरू गैरजिम्मेवार देखिन्छन् । अनि त, चुनाव जितेपछि उनीहरू असनको साँढे जस्तो किन नहोउन् !

हाम्रो निर्वाचनमा अकुत सम्पत्ति खर्च नगरे चुनाव जित्न सकिँदैन भनेर हाम्रा जिम्मेवार नेताहरूले पटक–पटक सार्वजनिक रूपमै बोलेका छन् । यस्तो स्थितिमा सदाचारी र आर्थिक रुपमा अनुशासित तर सक्षम व्यक्तिले चुनाव जित्नु भनेको आश्चर्य’ नै हुने स्थिति छ । चुनाव जित्नु त परैको कुरा राजनीतिक दलहरूले यस्ता उम्मेदवारलाई टिकट दिनसमेत छाडिसके । किनकि हाम्रा नेताहरू टिकट दिनेभन्दा पनि टिकट बेच्ने धन्दामा लागेको धेरै भइसक्यो । ठुलो रकम खर्चेर किनेको टिकटबाट चुनावमा अथाह धन खर्चेर जसरी पनि चुनाव जित्ने उम्मेदवारलाई हामीले कहिलेसम्म आफ्नो भाग्य विधाता मान्ने ? यसैले अबको निर्वाचनमा जसले धनको तुजुक देखाएर मतदाताको मन हैन मत किन्न खोज्छ त्यस्ता उम्मेदवारलाई दुर नमस्कार गर्नुमै मुलुकको हित छ ।

चुनावमा कालो धन लगानी गरेर त्यसबाट अथाह सम्पत्ति कमाउने लालसा ओढेकालाई नै पुरस्कृत गर्ने हो भने हामीले भन्न छोड्नुपर्‍यो, ‘नेताले देश बिगारे ।’

प्रकाशित समय : १६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु