global ime bank Long Banner Ad

गृहपृष्ठ बाँकेको राप्तीसोनारीमा स्थानीय पाठ्यक्रम लागू

बाँकेको राप्तीसोनारीमा स्थानीय पाठ्यक्रम लागू

बाँकेको राप्तीसोनारीमा स्थानीय पाठ्यक्रम लागू

बाँकेको राप्तीसोनारी गाउँपालिकाको ५४ विद्यालयमा आधारभूत तहको स्थानीय पाठ्यक्रम लागू भएको छ । पाठ्यक्रम निर्माण तथा लेखन समितिले तयार पारेको ‘हाम्रो राप्तीसोनारी’ नयाँ शैक्षिक सत्रदेखि लागू भएको गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले जानकारी दिए ।

पालिकाभित्रका कक्षा १ देखि ८ सम्मका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरिएको उल्लेख गर्दै गाउँपालिकाका अध्यक्ष पौडेलले आफूहरु निर्वाचित हुनुअघि नै उक्त पाठ्यक्रम तयार भएकाले त्यसलाई लागू गरिएको बताए ।

‘हाम्रो राप्तीसोनारी’ पाठ्यक्रममा हाम्रा संस्कृति र सम्पदा, हाम्रो पेशा व्यवसाय र प्रविधि, हाम्रो वातावरण, हाम्रो राप्तीसोनारीको परिचय, खुसीका लागि शिक्षा, जीवनोपयोगी सीप र विपद् व्यवस्थापनसहित गाउँपालिकाको विशेषतालाई उच्च प्राथमिकता दिइएको अध्यक्ष पौडेल बताउँछन् ।

गत वैशाखमा पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम विशेषज्ञ युवराज अधिकारी र शिक्षा केन्द्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्वउपसचिव जितबहादुर शाहको प्राविधिक सहयोग तथा गाउँपालिका शिक्षा शाखाका प्रमुख जीवन न्यौपानेको संयोजकत्वमा ३० सदस्यीय समिति निर्माण भएको थियो । सो समितिले छ महिनाको अवधिमा पाठ्यक्रम तयार गरेको थियो ।

खास गरेर सात विषय समेटेर निर्माण गरिएको पाठ्यक्रम राप्तीसोनारीका सबै आधारभूत विद्यालयमा लागू गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले जानकारी दिए । ‘यो पाठ्यक्रम मात्रै हो तर हामी पाठ्यपुस्तकको पनि तयारी गरिरहेका छौँ’, उनले भने । कक्षा, ६, ७ र ८ को लागि पाठ्यपुस्तक बनाउने र आधारभूत तहका लागि स्रोत पुस्तकको रुपमा रहने बताइएको छ ।

पाठ्यक्रमले मूलभूत रूपमा गाउँपालिका क्षेत्रको सेरोफेरोलाई समेटने प्रयास गरिएको उनले बताए । अध्यक्ष पौडेलले संविधानको मर्मअनुसार निर्माण भएको पाठ्यक्रम पाठ्यपुस्तकका रूपमा विद्यालयमा अध्ययन, अध्यापन सुरु गरिएको उल्लेख गर्दै स्थानीय आवश्यकतालाई केन्द्रीत गरी आधारभूत तहमा अध्ययनरत बालबालिकालाई आफ्नो सामाजिक तथा वातावरणीय परिवेशबारे ज्ञान र सीप प्रदान गर्ने यसको लक्ष्य रहेको उल्लेख गरे ।

पाठ्यक्रमले यस क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक पक्षलाई समेटेको छ । स्थानीयस्तरका विषयवस्तु समावेश गरी विद्यालयमा नियमित पठनपाठन गर्ने उद्देश्यले तयार गरिएको स्थानीय शैक्षिक सामग्री नै स्थानीय पाठ्यक्रम हो ।

प्रकाशित समय : ०७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु