गृहपृष्ठ तीन वर्षमा गरिबी ११ प्रतिशतमा झार्ने सरकारी लक्ष्य
तीन वर्षमा गरिबी ११ प्रतिशतमा झार्ने सरकारी लक्ष्य
सरकारले आगामी तीन वर्षभित्र निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या ११ प्रतिशतमा झार्ने नयाँ लक्ष्य सार्वजनिक गरेको छ । मुलुकभित्र गरिबीको रेखामुनि रहेको जनसंख्या यो वर्ष १६.७ प्रतिशतमा झरेको भन्दै त्यसलाई तीन वर्षमै ११.२ प्रतिशतमा झार्ने लक्ष्य राखिएको हो ।
राष्ट्रिय योजना आयोगले भर्खरै तयार पारेको मध्यमकालीन खर्च संरचना (२०७७/७८–२०७९/८०)अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा गरिबीको रेखामुनिको रहेको जनसंख्या १८.७ प्रतिशत रहेकोमा एकै वर्षमा २ प्रतिशत विन्दुले गरिबी घटी चालू वर्षमा १६.७ प्रतिशतमा झरेको दाबी गरिएको छ ।
‘कोरोना भाइरसको विश्वव्यापी महामारीबाट नेपालको अर्थतन्त्र र विकास प्रक्रियामा परेको वा पर्नसक्ने सम्भावित असर तथा प्रभावको प्रारम्भिक अनुमानका आधारमा आगामी आर्थिक वर्ष २०७७/७८ मा आगामी आर्थिक वर्ष २०७७/७८ को आर्थिक वृद्धिदरको अनुमान गरिएको’ स्वीकार्दा–स्वीकार्दै पनि उच्च महत्वाकांक्षी लक्ष्य राखिएको छ ।
मध्यमकालीन खर्च संरचना दस्तावेजमा पनि आगामी आर्थिक वर्ष बजेटले राखेसरह नै ७ प्रतिशतको उच्च आर्थिक वृद्धिदरका लक्ष्य राखिएको छ भने गरिबीको रेखामुनि रहेको जनसंख्या पुनः झन्डै २ प्रतिशतले झरेर १४.२ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ ।
एसियाली विकास बैंक (एडीबी), संयुक्त राष्ट्र संघीय संस्थाहरू सहितका विश्व आर्थिक संस्थाहरूले कोरोना भाइरस महामारीका कारण उत्पन्न आर्थिक मन्दीले कम्तिमा पनि ४ प्रतिशतले गरिबी बढ्ने बताइरहेका बेला सरकारको मुख्य आर्थिक थिंकट्यांकले भने उल्टो गरिबी घट्ने बताएको हो ।
योजना आयोगको दस्तावेजअनुसार आगामी आर्थिक वर्ष १४.८ प्रतिशतमा झारिएको गरिबी, आर्थिक वर्ष २०७८/७९ मा भने केही मन्द गतिले कमी आइ १३ प्रतिशतमा झारिनेछ भने आर्थिक वर्ष २०७९/८० मा ११.२ प्रतिशतमा झारिने छ ।
आयोगले राखेको आर्थिक वृद्धिको लक्ष्य र गरिबी घटाउने लक्ष्यबीच सामन्जस्य देखिँदैन । आगामी वर्षका लागि ७ प्रतिशत र त्यसपछि २०७८/७९मा एकै पटक १० प्रतिशत नजिक (९.९) प्रतिशत र २०७९/८० मा ९.८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने आयोगले लक्ष्य राखेको छ ।
उच्च आर्थिक वृद्धिदर र गरिबी न्युनिकरणबीच नजिकको अन्तरसम्बन्ध हुने विश्वव्यापी अनुभवहरूले देखाउँछन् । यदि आयोगकै लक्ष्यअनुसार २०७८/७९ मा १० प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने हो भने सो वर्षको गरिबी घट्ने अनुपात सामान्य वर्षभन्दा उच्च हुनुपर्ने हुन्छ । जबकी, आयोगले सामान्य वर्षभन्दा कम अनुपातले गरिबी घट्ने लक्ष्य राखेको छ ।
आयोगले राष्ट्रिय उपभोगमा आधारित निरपेक्ष गरिबीको रेखामुनिको जनसंख्यामात्र होइन, बहुआयामिक गरिबीमा रहेको जनसंख्या पनि आगामी तीन वर्षभित्र ६ प्रतिशत विन्दुले घटाउने महत्वकांक्षी लक्ष्य राखेको छ ।
आयोगका अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा बहुआयामिक गरिबीको रेखामुनि रहेका नेपालीको अनुपात २८.६ प्रतिशत रहेकोमा चालू आर्थिक वर्ष २०७६/७७मा १९.५ प्रतिशतमा झरेको छ ।
योजना आयोगले प्रत्येक वर्ष २ प्रतिशतका दरले बहुआयामिक गरिबीमा रहेका नेपालीको अनुपात घटाउँदै आव २०७७/७८ मा १७.५, आव ०७८/७९ मा १५.५ प्रतिशत र आव ०७९/८० मा १३.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।
गरिबीको रेखामुनि रहेको जनसंख्या कम गर्न प्रतिव्यक्ति आय पनि बढाएर तीन वर्षभित्रमा १ हजार ४५६ अमेरिकी डलर पुर्याउने पनि योजना आयोगले लक्ष्य राखेको छ । आयोगका अनुसार चालू आर्थिक वर्षमा नेपालीहरूको प्रतिव्यक्ति आय १०९७ अमेरिकी डलर भएकोमा आगामी आर्थिक वर्ष ०७७/७८ मा १ हजार १८८ डलर पुर्याइने छ भने आव ०७८/७९मा १ हजार ३३७ हुँदै आव ०७९/८० मा १ हजार ४५६ डलर पुर्याउने लक्ष्य राखिएको छ ।
प्रकाशित समय : १९:५० बजे



















