global ime bank Long Banner Ad

गृहपृष्ठ पतौरा स्वास्थ्य केन्द्रका डाक्टर बर्खास्त, डा. प्रसाद भन्छन्‑ अचम्म लाग्यो

पतौरा स्वास्थ्य केन्द्रका डाक्टर बर्खास्त, डा. प्रसाद भन्छन्‑ अचम्म लाग्यो

पतौरा स्वास्थ्य केन्द्रका डाक्टर बर्खास्त, डा. प्रसाद भन्छन्‑ अचम्म लाग्यो

नोवेल कोरोनाभाइरसबाट हुने कोभिड १९ संक्रमण बढ्दै गएका बेला जिम्मेवारीपूर्वक कार्यसम्पादन पूरा नगरेको भन्दै रौतहटको मौलापुर नगरपालिकाले मेडिकल अधिकृतलाई बर्खास्त गरेको छ । मौलापुरको पतौरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. हरिशंकर प्रसादलाई सेवाबाट हटाइएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहले जिम्मेवारी पूरा नगरेका कारण डाक्टरलाई पदबाट हटाइएको  जानकारी दिए । ‘कोरोना संक्रमण बढिरहेका बेला नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनहरुमा बसेकाहरुलाई चेकजाँच गर्न उहाँले कुनै चासो दिनुभएन,’ न्युज कारोबारसँग उनले भने, ‘नगरपालिकामा कोरोनाको प्रभाव बढ्दै गएको अवस्थामा काममा लापर्बाही गरेका कारण सेवामा निरन्तरता दिन सकिएन ।’

नगरपालिकाले कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै डा. प्रसादलाई आइतबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उनले स्पष्टीकरण पनि बुझाए । ‘मबाट गल्ती भएको जस्तो लागेर समय सीमाभित्रै स्पष्टीकरण पनि दिएको थिएँ,’ डा. प्रसादले भने, ‘तर किन हटाइयो, बुझ्न सकिन, अचम्म लागिरहेको छ ।’

उनको करार अवधि असार मसान्तमा सकिँदै थियो । नगरपालिकाले पाँच महिनाअघि डा. अभिमन्यु रौनियार र डा. प्रसादलाई नियुक्त गरेको थियो । ‘सरकारीमा भन्दा दोब्बर तलब, अन्य सेवा सुविधा र क्वाटरसमेत दिएर नियुक्ति गरेका थियौँ,’ नगरपालिकाका उपप्रमुख गौरीशंकर प्रसाद भन्छन्, ‘तर उहाँको काम सन्तोषजनक भएन, पटक‑पटक मौखिक जानकारी गराए पनि तरिका उस्तै भएपछि कारबाही गरेका हौँ ।’

डा. प्रसादको घर वीरगन्ज हो । उनी शुक्रबार बिदामा घर जाने र आइतबार २ बजेतिर मात्र फर्किने गरेको नगरपालिकाका उपप्रमुख प्रसादले बताए । ‘उहाँका धेरै कमजोरी थिए तर पनि मैले चाहिँ एक महिना पर्खौं, त्यसपछि अवधी नथपौँला पनि भनेको थिएँ,’ उनले भने, ‘तर अरु मान्नु भएन ।’

उपप्रमुख प्रसादलाई अब डाक्टर नपाइने हो कि भन्ने चिन्ता छ । ‘पहिला पनि सुरुमा ३५ दिनको सूचना निकालेर डाक्टर माग गर्‍यौँ,’ उनले भने, ‘दुई जना माग गर्दा दुई जनाकै मात्र निवेदन पर्‍यो, फेरि सात दिन म्याद थप्यौँ, कोही नआएपछि दुवै जनालाई राख्यौँ । यो ठाउँमा डाक्टर आउन समस्या छ, कोरोनाको महामारी बढ्दै गयो भने झन् अफ्ठ्यारोमा परिन सक्छ ।’

केही दिनयता रौतहटमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । रौतहटमा ५३१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १०२ जना उपचारपछि घर फर्किएका छन् । डा. प्रसाद यसअघि बुटवलको एक निजी अस्पतालमा कार्यरत थिए । ‘प्रमुख प्रशासकीय अधिकृतसँग चिनजान भएको तथा घरनजिक भएकाले १ लाख २० हजारको जागिर छाडेर ८० हजारको जागिर खाएँ, अहिले उल्टै बदनाम पो भयो,’ उनले भने, ‘जागिर पाउन त मलाई समस्या छैन, झुटा आरोप लगाएर बदनाम हुनुपर्दा चाहिँ दुःख लाग्यो ।’

उनले कहिलेकाहीँ ढिला हुने गरेको स्वीकार गरे । ‘वीरगन्जमा घर बनाउँदै थिएँ, त्यही भएर कहिलेकाहीँ ढिला हुन्थ्यो,’ डा. प्रसादले भने, ‘यसपटक बिना जानकारी केही दिन बसेको थिएँ, अफिस गएकै दिन स्पष्टीकरण सोधियो, प्रस्टीकरण पनि क्षमायाचनासहित दिएको थिएँ, किन हटाइयो बुझ्न सकिन ।’

प्रकाशित समय : १९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु