गृहपृष्ठ पहिरोले डुम्रे-बेँसीसहर र बेँसीसहर चामे सडक अवरुद्ध
पहिरोले डुम्रे-बेँसीसहर र बेँसीसहर चामे सडक अवरुद्ध
अविरल वर्षाले आएको पहिरोले गएरातिदेखि डुम्रे-बेँसीसहर र बेँसीसहर चामे सडक पुनः अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१ उदिपुरको देउराली डाँडा पहिरो र मस्र्याङ्दी गाउँपालिका-४ रामबजारको पहिरोले बेँसीसहर चामे सडक अवरुद्ध भएको हो ।
वैकल्पिक सडकका रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुंगासहितको लेदो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जगदीश रेग्मीले बताए । उनका अनुसार पहिरोले अवरुद्ध बनाएको सडक एक्साभेटरको माध्यमबाट खुलाउने कार्य भइरहेको छ ।
यही भदौ ११ गते र गत असारको पहिलो हप्ता आएको बाढीले सो सडकको देउरालीडाँडामा सडक बगाएको थियो । सडक अवरुद्धका कारण बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रुहरु बढी मारमा परेका छन् । यस सडक ४२ किलोमिटर दूरीको छ ।
यस्तै, लमजुङ मनाङ जोड्ने बेँसीसहर चामे सडकअन्तर्गत उक्त रामबजारमा पहिरोले अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन हुन सकेको छैन । सडक माथिबाट ठूला ढुंगामाटा सहितको पहिरो खसेर सडक अवरुद्ध भइरहेको प्रहरीले जनाएको छ ।
यस सडक हुँदै विशेष गरी मनाङवासीहरुको आवतजावत हुने गर्दछ । यसरी पटक पटक सडक अवरुद्ध हुँदा समस्या हुँदै आएको छ । यस सडक ६५ किलोमिटरको दूरीमा रहेको छ ।
प्रकाशित समय : ०८:५६ बजे



















