गृहपृष्ठ न्याय परिषद्द्वारा थप दुई न्यायाधीश पदमुक्त
न्याय परिषद्द्वारा थप दुई न्यायाधीश पदमुक्त
न्याय परिषद्ले दुई न्यायाधीशलाई पदमुक्त गरेको छ । उच्च अदालत सुर्खेतको जुम्ला इजलासका नसरुल्लाह अन्सारी र बर्दिया जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहलाई पदमुक्त गर्न सिफारिस गरेको छ ।
खराब आचरण र कार्यक्षमताको अभाव पाइएपछि पदमुक्त गर्न कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष सिफारिस गरिएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
उनीहरूविरुद्ध परेका उजुरीमाथि अनुसन्धान र उनीहरूले गरेका फैसला अध्ययनपछि दोषी पाइएकाले पदमुक्त गर्ने सिफारिस गरिएको प्रवक्ता कार्कीले बताए ।
परिषद्को सिफारिसअनुसार कामु प्रधानन्यायाधीश कार्कीले उनीहरू दुवैजनालाई आइतबार पदमुक्त गर्ने निर्णय गर्नेछन् । नवलपरासीका अन्सारी २०७३ पुस २९ मा सिधै उच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए ।
त्यस्तै रुकुमका शाह २०४३ साउन २६ मा न्याय सेवा प्रवेश गरेर २०६६ भदौ २३ मा जिल्ला न्यायाधीश नियुक्त भएका थिए । करिब १३ वर्षदेखि एउटै पदमा रहेका शाह हालका जिल्ला न्यायाधीशहरूमा पुरानामध्येका हुन् ।
त्यसैगरी परिषद्ले उच्च अदालत तुलसीपुरकी न्यायाधीश बबिता उप्रेतीलाई सचेत गराउने पनि निर्णय गरेको छ ।
प्रकाशित समय : ११:४० बजे



















