गृहपृष्ठ साढे ९ लाख घुससहित प्रकाउ परेका नारायणकाजी श्रेष्ठविरूद्ध विशेष अदालतमा मुद्धा दायर
साढे ९ लाख घुससहित प्रकाउ परेका नारायणकाजी श्रेष्ठविरूद्ध विशेष अदालतमा मुद्धा दायर
जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दिक्तेल, खोटाङका डिभिजन प्रमुख नारायणकाजी श्रेष्ठले निर्माणाधिन सिंचाई परियोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज डिभिजन प्रमुख नारायणकाजी श्रेष्ठलाई सेवाग्राहीबाट ९ लाख ३४ हजार घुस/रिसवत लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय खोटाङका कार्यालय प्रमुख नारायणकाजी श्रेष्ठले सेवाग्राहीको ठेक्काको दोस्रो रनिङ बिल भुक्तानीको लागि रकमको अभाव भएको र भुक्तानी अंकको १० प्रतिशतले हुने रकम दिए मात्र रकम छिटो निकाशा गरी भुक्तानी दिन सकिने भनी सेवा ग्राहीसँग ९ लाख ३४ हजार) घुस/रिसवत माग गरी लिएको तथ्य पुष्टि हुन आएको हुँदा उनीविरूद्ध मुद्धा दायर गरेको बताइएको छ ।
नारायणकाजी श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर भएकोले उनलाई बिगो ९ लाख ३४ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुन मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
प्रकाशित समय : १६:०१ बजे



















