global ime bank Long Banner Ad

गृहपृष्ठ भेन्टिलेटरकै अभावमा ज्यान गुमाउँदै कोरोना संक्रमित

भेन्टिलेटरकै अभावमा ज्यान गुमाउँदै कोरोना संक्रमित

भेन्टिलेटरकै अभावमा ज्यान गुमाउँदै कोरोना संक्रमित

कोरोनाभाइरस संक्रमण भई गम्भीर अवस्थाका बिरामीको उपचारका लागि प्रदेश २ मा भेन्टिलेटर र आईसीयूको अभाव भएको छ । प्रदेश २ को स्वास्थ्य निर्देशनालयका सह–निर्देशक विजय झाका अनुसार प्रदेशका आठ जिल्लामध्ये पर्साको वीरगन्ज, धनुषाको जनकपुर र सप्तरीको राजविराज सरकारी अस्पतालमा मात्रै भेन्टिलेटर छन् ।

पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा तीनवटा, जनकपुरको प्रादेशिक अस्पतालमा दुईवटा र सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चारवटा भेन्टिलेटर छन् तर त्यहाँ आईसीयू कक्ष भने छैनन । ‘आईसीयू नभएपछि भेन्टिलेटरको कुनै अर्थ नहुने सह-निर्देशक झाले बताए ।

प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा दुईवटा मात्रै भेन्टिलेटर छन् । ती भेन्टिलेटर कहिल्यै खाली हुँदैनन् । गम्भीर प्रकृतिका कोरोना संक्रमितलाई भेन्टिलेटरमा राखेर उपचार गरे अन्य बिरामीहरु प्रभावित हुने भएकाले कोरोना विशेष अस्पतालका लागि आफ्नै भेन्टिलेटर आवश्यक भएको धनुषाका आइसोलेसन संयोजक डा. जामुनप्रसाद सिंहले बताए । सिंहका जनकपुरमा तत्काल पाँचवटा भेन्टिलेटर आवश्यक छ ।

प्रदेश २ मन्त्रिपरिषदको वैशाख ८ गते बसेको बैठकले ३० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरी सामाजिक विकास मन्त्रालयमार्फत बजेटसमेत निकासा गरिसकेको छ । तर, तीन महिना बितिसक्दा पनि खरिद नगरिँदा कोरोना संक्रमितको उपचारमा प्रभावित भएको छ ।

साउन १० गते जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका सहिदनगर नगरपालिका ८ डुमरियाका ३८ वर्षका पुरुषलाई भेन्टिलेटर अभावका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । भेन्टिलेटर नभएकै कारण पर्सामा ६, बारा र रौतहटमा २/२ तथा धनुषा, महोत्तरी र सप्तरीमा १/१ गरी १३ जनाको मृत्यु भइसकेको छ ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहका अनुसार असार ११ गते मन्त्रालयले ३० वटा भेन्टिलेटर खरिदका लागि टेन्डर आह्वान गरे पनि दरखास्त नपरेकाले खरिद गर्न ढिलाइ भएको बताए । चाँडै पुनः टेन्डर आह्वान गरी भेन्टिलेटरको व्यवस्था गरिने उनले जनाए ।

प्रकाशित समय : १७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु