global ime bank Long Banner Ad

गृहपृष्ठ सशस्त्र द्वन्द्वपछि पूर्ववत् अवस्थामा फर्किन नसकेको सत्ती बजार

सशस्त्र द्वन्द्वपछि पूर्ववत् अवस्थामा फर्किन नसकेको सत्ती बजार

सशस्त्र द्वन्द्वपछि पूर्ववत् अवस्थामा फर्किन नसकेको सत्ती बजार

सशस्त्र द्वन्द्वपछि चहलपहल सेलाएको सत्ती बजार अझै पूर्ववत् अवस्थामा फर्किन सकेको छैन । विगतमा कैलालीकै चर्चित बजारका रूपमा स्थापित सत्ती बजारमा सशस्त्र द्वन्द्वका क्रममा विस्थापित भएका सरकारी कार्यालय र ठूला व्यापारी पुनः स्थापित हुन नसकेको हो ।

सशस्त्र द्वन्द्वका बेला यहाँका प्रहरी चौकी, साल्ट ट्रेडिङ, वाणिज्य बैंकलगायतका दर्जन बढी कार्यालय विस्थापित भएका थिए । शान्ति स्थापनापछि प्रहरी चौकीलगायत केही कार्यालय पुनःस्थापना भएका छन् तर बजार स्थापित हुनसकेको छैन । गत वर्ष वाणिज्य बैंक पनि पुनःस्थापना भएको छ । अझै आधा दर्जन सरकारी कार्यालय फर्कन सकेका छैनन्,’ साविक नारायणपुर गाविसका पूर्वअध्यक्ष फकिरसिंह कडायत भन्छन्, ‘साल्ड ट्रेडिङको कार्यालय, बैंकको सटही कार्यालय, पशु क्वारेन्टिनजस्ता कार्यालय अझै पुनःस्थापना हुनसकेका छैनन्, सरकारी कार्यालय भए पो यहाँको विकासमा मद्दत पुग्छ ।’

पूर्वअध्यक्ष कडायतका अनुसार सत्ती बजार हटिया बजारका रूपमा स्थापना भएको बजार हो । यो बजार करिब २०० वर्षभन्दा पुरानो हो । हटिया बजारका रूपमा विकास गरिएको सत्तीपछि खाद्यान्न खरिद बिक्रीका रूपमा विकास भयो । ‘यहाँ पदम प्रकाशेश्वर मन्दिर पनि छ । त्यो मन्दिर ५०० वर्ष पुरानो रहेको बताइन्छ,’ उनी भन्छन्, ‘यहाँ दर्जनौँ ठूला उद्योग र मिरु थिए । सशस्त्र द्वन्द्वमा सबै बन्द भए । दुगडलगायतका राष्ट्रिय स्तरका व्यापारीले व्यापार गर्थे, उनीहरु सबै विस्थापित भए । उनीहरु अहिलेसम्म फर्कन सकेका छैनन् ।’

सशस्त्र द्वन्द्वअघि यहाँ निकै चहलपहल र व्यापार हुन्थ्यो । किनमेल गर्ने मानिसको निकै भीड हुन्थ्यो । अन्य समयभन्दा सत्ती बजारमा धान, गहुँ खरिद बिक्रीका समयमा बढी भीडभाड हुने गर्थ्यो । कैलालीका सुखड, पहलमानपुर, भजनी, बौनिया, लम्कीलगायत क्षेत्रका किसानले धान र गहुँ बिक्री गर्न ल्याउँथे । ‘कैलालीका आधा नागरिकको किनमेल गर्ने, खाद्यान्न बिक्री गर्ने बजार सत्ती थियो,’ स्थानीयवासी शारदा तिमिल्सिनाले भनिन्, ‘हाल यहाँ व्यापारी आउन छाडे । धान, गहुँ खरिद गर्न भारतीय नागरिकसमेत आएर बस्ने गर्थे । यहाँको अन्नपात खरिद गरेर उनीहरुले लिने गर्थे र पैसा दिएर जान्थे ।’

खाद्यान्न खरिद बिक्री हुने भएकाले सत्ती बजारलाई गल्लामण्डीका रूपमा पनि चिनिथ्यो । स्थानीय देवेन्द्र जैशी त्यो बेला यहाँका घरहरु स–साना हुन्थे तर खाद्यान्नका थुप्रा भने घरभन्दा ठूला रहेको सम्झन्छन् । ‘यहाँ खरिद गरेको खाद्यान्न केही सिधै भारततिर लगिन्थ्यो भने केही यतै कुटानी–पिसानी गरेर बिक्री-वितरण गरिन्थ्यो,’ उनी भन्छन्, ‘साविकको नारायणपुर गाविसमा एक दर्जनभन्दा बढी कुटानी पिसानी गर्ने मिल खोलिएका थिए । मिल खुलेका कारण यहाँका धेरैले रोजागरीसमेत पाएका थिए । यहाँका नागरिकलाई जीविकोपार्जनमा टेवा पुगेको थियो ।’

स्थानीय सरकारदेखि सबै तहका सरकारले सशस्त्र द्वन्द्व र अन्य असुविधाका कारण पलायन भएका व्यापारी वा लगानीकर्तालाई फर्कने वातावरण बनाउन माग गर्दै आएका छन् । ‘यहाँका राजनीतिक दलसहित स्थानीय नागरिकले बर्सेनि सरकारलाई ठूला उद्योग र कार्यालय पुनःस्थापना गरिदिन माग गर्दै आएका छन्,’ स्थानीयवासी हरि चौधरी भन्छन्, ‘स्थानीय सरकारले पनि माग उठाइरहेको छ तर सत्ती बजारको मुहार फर्कने आशा हराउँदै गएको छ ।’

कुनै पनि ठाउँको विकासका लागि कलकारखाना वा व्यापार व्यावसाय सञ्चालन हुनुपर्ने भएकाले यहाँका व्यापारिक विकासका आधारलाई सरकारले पुनःस्थापना गरिदिनुपर्ने माग चौधरीको छ । ‘यहाँ सञ्चालनमा रहेका मिल बन्द भएर खण्डहरमा परिणत भएका छन्,’ टीकापुर ७ का अध्यक्ष रामलाल चौधरी भन्छन्, ‘करौडौँ लगानीका संरचना खिया लागेर खेर गएका छन् । सरकारले यी संरचना मर्मत गरी प्रयोगमा ल्याउन सके करोडौंको सम्पत्ति जोगाउन सकिन्छ ।’ (रासस)

प्रकाशित समय : १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु