लैङ्गिक हिंसा अन्त्यका लागि सोच र व्यवहारमा परिवर्तन आवश्यक छ: मुख्यमन्त्री आचार्य
वि.सं.२०८३ मंसिर ९ बुधवार ११:२७
shares

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी व्यवस्था, संस्थागत प्रयास र सामाजिक चेतनासँगै व्यक्ति, परिवार तथा समुदायको सोच र व्यवहारमा सकारात्मक परिवर्तन आवश्यक रहेको बताएका छन ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले लैङ्गिक हिंसा मानवअधिकारको गम्भीर उल्लङ्घन, सामाजिक न्यायको बाधक तथा समतामूलक समाज निर्माणको चुनौती भएको उल्लेख गरेका छन । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि २४ गतेसम्म सञ्चालन हुनेछ ।
मुख्यमन्त्री आचार्यले महिला, बालबालिका तथा लैङ्गिक र सामाजिक रूपमा पछाडि पारिएका समुदायमाथि हुने हिंसा, विभेद, शोषण, दुव्र्यवहार र असमान व्यवहारको अन्त्य गर्नु राज्य, समाज र प्रत्येक नागरिकको साझा दायित्व भएको बताएका छन ।
उनले लुम्बिनी प्रदेश सरकारले लैङ्गिक समानता, सामाजिक न्याय, समावेशिता तथा महिला सशक्तीकरणलाई शासन, नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिँदै आएको उल्लेख गरेका छन । उनले अभियानलाई १६ दिनमा मात्र सीमित नराखी वर्षभरि लैङ्गिक हिंसाविरुद्ध जागरण, प्रतिरोध र सामाजिक उत्तरदायित्वको अभियानका रूपमा अघि बढाउन सम्पूर्ण नागरिकमा आह्वान गरेका छन ।
























