गृहपृष्ठ नेपाललाई जितका लागि १४५ रनको लक्ष्य
नेपाललाई जितका लागि १४५ रनको लक्ष्य
स्कटल्याण्डमा जारी आइसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले नेपाललाई जितका लागि १४५ रनको लक्ष्य दिएको छ ।
स्कटल्याण्डको ग्लास्गोस्थित टिटउड क्रिकेट मैदान नेपालले टस जितेपछि पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४२ दशमव ५ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनायो ।
स्कटल्याण्डका लागि गाभिन मेनले अविजित रहँदै सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले । मार्क वाटले १७ तथा साफ्यान शारिफले १६ रन जोडे । कलुम म्याकलोडले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल आलमले उत्कृष्ट बलिङ गरे । सोमपाल र आदिलले समान ३–३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे । त्यस्तै, करण केसी र दीपेन्द्रसिंह ऐरीले १र१ विकेट लिए ।
नेपाल आज स्कटल्याण्डलाई हराउँदै सिरिजमा पहिलो जित दर्ता गराउने दाउमा छ । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । यता स्कटल्याण्ड जारी प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले पराजित गरेको थियो ।
लिग दुई को अंक तालिकामा नेपाल १७ खेलमा १५ अंक जोडेर छैटौँ स्थानमा रहेको छ । नेपालले ७ खेलमा जित निकाल्दा एक खेल ‘टाइ’ र नौ खेलमा पराजय बेहोरेको थियो । स्कटल्याण्ड २१ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
प्रकाशित समय : ०१:३२ बजे

















