सक्रिय संक्रमितको संख्या एक हजार नाघ्यो, थप २०६ जनामा कोरोना पुष्टि
वि.सं.२०७९ असार २९ बुधवार २३:०५
shares

पछिल्ला केही दिनदेखि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । आज एकै दिन २०० बढी संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज तीन हजार बढी नमुना परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको छ ।
गत २४ घन्टामा दुई हजार ८२ नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा १७७ र एक हजार ९३ नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २९ गरी कुल २०६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए । यससँगै सक्रिय संक्रमितको सङ्ख्या एक हजार ५ पुगेको छ ।
आज उपत्यकामा १२५ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौँमा १००, ललितपुरमा १८ र भक्तपुरमा ७ संक्रमित भेटिएका छन् । काठमाडौँ उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ६९४ छ । होम आइसोलेनमा ९८४ र संस्थागत आइसोलेनमा २१ छन् । सोमध्ये १२ जना आइसीयू र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
बुधबार ५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म ११ लाख २१ हजार ५०७ संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घन्टामा ६३ हजार ३७८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
अहिले विश्वभर कोरोना भाइरसको ‘बिए–५’ भेरियन्ट फैलिएको जनाउँदै उनले संक्रमणबाट बच्न जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरे ।

























