गृहपृष्ठ मेयर साम्पाङले बजेट रोक्ने वडाध्यक्षलाई थर्काए- स्वतन्त्र भनेर हेपेको ?
मेयर साम्पाङले बजेट रोक्ने वडाध्यक्षलाई थर्काए- स्वतन्त्र भनेर हेपेको ?
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र वडाध्यक्षहरुको टकराव चुलिँदै गएपछि नगरसभामै भनाभान परेको छ । कार्यपालिका सदस्यहरुले बजेट पास गर्न नदिने अडान लिएपछि मेयर साम्पाङसमेत आक्रोशित बनेका छन् । उनले बजेट रोक्न खोज्ने कार्यपालिका सदस्यमाथि कड्किँदै भने, ‘स्वतन्त्र भनेर हेपेको ?’
बजेट छलफलका लागि बिहीबार बसेको कार्यपालिका बैठकमा धरानको विकासका लागि बजेट बनाऔं, विकास गरौं भन्दा कतिपय वडाध्यक्षहरुले विवाद निकालेको साम्पाङको भनाइ छ । ‘बजेट बनाऔं, विद्यालय बनाऔं, विकास गरौं भनेको छु । यो विषयमा किन विवाद गर्नु ? बजेट कुन कुन शीर्षकमा कति-कति गर्ने भन्ने कुरा मैले गरेको छैन । सिलिङ बनाउने विषयमा तपाईहरुले नै भन्नुभएको छ,’ बैठकलाई सम्बोधन गर्दै साम्पाङले भने, ‘हामीले पटकपटक छलफल गरिरहेकै छौं नि ।'
उनले थप भने, 'हाम्रो मनसाय बजेट पास नगर्ने नै हो त ? त्यसो गर्दा नगरपालिका चल्छ ? वडा चल्छ ? उहाँ के-के गर्नुहुन्छ ? (उपप्रमुख अइन्द्र बेघातिर देखाउँदै) कहिले मिलो है भन्दै आउनु हुन्छ । फेरि यहाँ आयो मिलेको हुँदैन । को-को समितिमा बस्ने को के गर्ने उहाँलाई नै जिम्मा दिएको छु । यो बजेट राम्रो बन्नुपर्यो । समयमै आउनु पर्यो । तपाईहरुले गृहकार्य गर्नुभयो । अझै पनि छलफल गरौं, छलफल गरौं भन्नुहुन्छ । कति गर्नु छलफल ?’
साम्पाङले स्वतन्त्रको मेयरले बजेट पास गर्नै सकेनन् भनेर बदनाम गर्न खोजेको भन्दै त्यसप्रति पनि आक्रोश व्यक्त गरे । ‘बैठक सार्ने, बजेट पनि पास गर्न नदिने अनि स्वतन्त्र आएर बजेट पास गर्नै सकेन भन्न खोजेको हो कि के हो ? हर्क साम्पाङ भन्ने व्यक्ति असफल हुँदा खेरि म एक्लो असफल हुन्न । यो कुरा ख्याल गर्नुहोस्,’ उनले भने ।
प्रकाशित समय : १६:२५ बजे



















