गृहपृष्ठ चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आउँदै
चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आउँदै
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपाल भम्रण गर्ने भएका छन् । भर्खरै जिम्मेवारी सम्हालेका नवनियुक्त विदेश विभाग प्रमुखले पहिलो विदेश भ्रमणको सुरुआत नेपालबाट गर्न चाहेका हुन् ।
जुन पहिलो साता पार्टी विदेश विभाग प्रमुखको जिम्मेवारीमा आएका जियानचाओले पहिलो विदेश भ्रमणका लागि नेपाल रोज्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
भ्रमणबारे औपचारिक रुपमा जानकारी दिइएको छैन । तथापी आगामी आइतबारसम्म उनी नेपाल आइसक्ने बुझिएको छ । त्यसको पुष्टि गर्दै काठमाडौंस्थित चिनियाँ राजदूतावास स्रोतले भन्यो, ‘जिम्मेवारी सम्हालेपछि भाइचारा र पार्टी सम्बन्ध भएका सबै जसो मुलुकमा भ्रमण, भेटघाट र प्रत्यक्ष कुराकानी गर्ने चलन छ । नेपाल त्यो प्रक्रियाको पहिलो देश भएको छ । यसको मतलब चीनले नेपाललाई प्राथमिकतामा राखेको छ भन्ने सन्देश दिन खोजिएको पनि हो ।’
परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार पनि चार दिने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने निश्चित भएको छ । साथै, सभामुख अग्नी प्रसाद सापकोटासँग पनि उनको भेटघाट हुनसक्ने बताइएको छ ।
स्रोतका अनुसार आगामी संघीय निर्वाचनमा मुलुकका दुई ठूला कम्युनिस्ट पार्टीबीच सम्भव भए एकता र नभए वाम गठबन्धन बनाएर जाने वातावरण बनाउनु पनि उनको भ्रमणको उद्देश्य हो । जिम्मेवारी सम्हालेको केही समयपछि नै उनले ९ असारमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग र भोलिपल्ट एमाले अध्यक्ष ओलीसँग भिडियो संवाद गरेका थिए ।
प्रकाशित समय : १४:१० बजे