गृहपृष्ठ युक्रेनको लुहांस्क क्षेत्र रुसको कब्जामा
युक्रेनको लुहांस्क क्षेत्र रुसको कब्जामा
रुसले युक्रेनको एक महत्वपूर्ण लुहांस्क शहर नियन्त्रणमा लिएको छ । भीषण संघर्षपछि युक्रेनको पूर्वी शहर लिसिचांस्कमा रुसले नियन्त्रण कायम गरेको थियो । योसँगै पूरै लुहांस्क क्षेत्र नियन्त्रणमा लिन रुस सफल भएको छ ।
लिसिचांस्क शहर रुसी सेनाको नियन्त्रणमा रहेको युक्रेनको सेनाले पनि पुष्टि गरेको छ । यसअघि रुसका रक्षामन्त्री सर्गेइ शोइगुले पनि लिसिचांस्क शहर कब्जा गरेको बताएका थिए । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले भने अहिले पछि हटे पनि युक्रेनी सेना लिसिचांस्क शहरमा फर्किने दाबी गरेका छन् । उनले डटेर रुसी सेनाविरुद्ध लडेको भन्दै आफ्ना सैनिकलाई धन्यवाद पनि दिएका छन् ।
यसअघि रुसको चेचेन्या गणराज्यका प्रमुख रमजान कादिरोभले सार्वजनिक गरेको एक भिडियोमा चेचेन लडाकु लिसिचांस्कको मध्यमा देखिन्छन् । उनीहरु पश्चिमतर्फ अघि बढिरहेका छन् । युक्रेनको नियन्त्रणमा रहेको स्लोभियांस्क शहरमा संघर्ष जारी छ ।
एक साता अगाडि रुसी सैनिकले सेवेरोदोनोत्स्कमा कब्जा जमाएका थिए । यो शहर रुसी बमबारीबाट पूर्णरुपमा ध्वस्त भएको छ ।
प्रकाशित समय : १३:४५ बजे

















