गृहपृष्ठ अफगानिस्तानमा इस्लामी कानुन लागू गर्न आह्वान
अफगानिस्तानमा इस्लामी कानुन लागू गर्न आह्वान
अफगानिस्तानको तालिवान सरकारका सर्वोच्च नेता मुल्लाह हिबातुल्लाह अखुन्जादाले देशमा इस्लामी कानुन लागू गर्न आह्वान गरेका छन् । अफगानिस्तानको स्वतन्त्रताका लागि र जनताको न्यायका लागि इस्लामी कानुन लागू हुनुपर्नेमा उनकाे जोड छ ।
इस्लामिक नेता तथा अगुवाहरूको भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले इस्लामी कानुन कार्यान्वयन गर्नु तालिवान सरकारको मुख्य कार्यभार हुने बताए । ‘हामी अहिले इस्लामी प्रणालीमा छौँ । हामीले सरकार चलाइरहेका बेला इस्लामी कानुन लागू गर्नु हामी सबैको कर्तव्य हुन्छ,’ उनले भने । उनले युद्धबाट फर्किएको मुलुक भएकाले अब ढुक्कसँग लगानी गर्न उद्योगी व्यवसायीहरूलाई सुझाव पनि दिएका छन् ।
सम्मेलनमा सहभागीले कक्षा सातदेखि १२ कक्षासम्मका छात्राका लागि विद्यालय पुन:सञ्चालन गर्ने राष्ट्रिय झण्डा र राष्ट्रिय गान लगायतका विषयमा छलफल गर्ने जनाइएको छ । सम्मेलनमा तीन हजार ५०० भन्दा बढी इस्लामी अगुवा तथा नेताहरूको सहभागिता रहेको छ । बिहीबार उद्घाटन भएको सम्मेलन तीन दिनसम्म चल्ने छ ।
सन् १९९० देखि २००१ सम्म देशमा शासन गरेको तालिबानले गत वर्ष त्यहाँबाट अन्तर्राष्ट्रिय सेना फिर्ता भएपछि शासनसत्ता पुनः आफ्नो हातमा लिएको छ ।
प्रकाशित समय : १५:४० बजे



















