गृहपृष्ठ रेल्वे विधेयक राष्ट्रियसभाबाट पारित

रेल्वे विधेयक राष्ट्रियसभाबाट पारित

रेल्वे विधेयक राष्ट्रियसभाबाट पारित

राष्ट्रियसभाबाट ‘रेल्वे विधेयक, २०७९’ पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले प्रस्तुत गरेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । 

विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संयुक्त संशोधनकर्ताका तर्फबाट सांसद देवेन्द्र दाहालले रेल्वे सेवालाई प्रभावकारीरूपमा सञ्चालन गर्न छुट्टै मन्त्रालय बनाउनुपर्ने बताए । अर्का संशोधनकर्ता सांसद डा.विमला राई पौडेलले रेल्वे बोर्डको सञ्चालन समितिमा सार्वजनिक यातायात व्यवस्थापन विषय पढेका, जानेका वा अनुभव लिएका दुई जना स्वतन्त्र विज्ञ राख्नुपर्ने बताइन् ।

सांसद् प्रकाश पन्थले रेल्वे बोर्डको स्वायत्ततामाथि संकुचित गर्ने मनशाय राखिएको केही प्रावधान हटाउनुपर्ने बताए । रेल्वे विधेयकमा नौ सांसदबाट प्रस्तावना र १६ दफासँग सम्बन्धित संयुक्त संशोधन प्रस्तावसहित २३ संशोधन प्रस्ताव दर्ता भएका थिए । 

विधेयकको दफावार छलपलका क्रममा सांसद्हरूले प्रस्तुत गरेका संशोधन प्रस्तावका सम्बन्धमा उठेका प्रश्नको जबाफ दिँदै मन्त्री यादवले विधेयकका सम्बन्धमा सांसद्हरूले राखेका विषयलाई नियमावलीमार्फत् सम्बोधन गरिने बताइन् । 

राष्ट्रियसभाको अर्को बैठक यही असार २० गते सोमबार अपराह्न १ बजे बस्ने छ । 

प्रकाशित समय : २०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु