global ime bank Long Banner Ad

गृहपृष्ठ आविष्कार केन्द्रमा पहिलोपटक बहालवाला मन्त्री

आविष्कार केन्द्रमा पहिलोपटक बहालवाला मन्त्री

आविष्कार केन्द्रमा पहिलोपटक बहालवाला मन्त्री

कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा पहिलो पटक बहालवाला मन्त्री पुगेका छन् । साेमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनद्वारा स्थापित आविष्कार केन्द्र पुगेर त्यहाँ भइरहेका गतिविधिहरुको अवलोकन गरे ।

त्यस अवसरमा मन्त्री बडूले पुनले स्थापना गरेको आविष्कार केन्द्रले नेपालमै नवप्रवर्तक युवाहरुलाई समाजको आवश्यकतानुरूप विविध उत्पादन र सेवा क्षेत्रमा आविष्कारको माध्यमबाट उल्लेख्य कार्य गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेको र यसलाई उद्यमशीलतासँग जोड्दै थप बजार विस्तार गर्न सरकारले पनि आवश्यक सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कोरोना महामारीको समयमा पिपिई, भेन्टिलेटरलगायत स्वास्थ्य सामग्री उपलब्ध गराएर आविष्कार केन्द्रले नेपाली जनता र सरकारलाई ठूलो सहयोग गरेको र कृषि औजार, औद्योगिक मेसिन, सूचना प्रविधिको क्षेत्रमा गरिरहेको प्रयासले नेपालमा रोजगारी वृद्धि र विकासमा थप टेवा पुग्ने विश्वास मन्त्री बडूले व्यक्त गरे । उनले आगामी आर्थिक वर्षमा आविष्कार केन्द्रसँग मन्त्रालयले सहयोग र सहकार्य गर्ने योजनासमेत बनाइरहेको जानकारी दिए । उनले पुनसहित त्यहाँ आविष्काररत उद्यमीहरुसँग अन्तर्क्रियासमेत गरे ।

आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले पहिलो पटक बहालवाला मन्त्री आफैँ आविष्कार केन्द्रमा आएर हौसला प्रदान गरेकामा धन्यवाद दिँदै सरकारले विकास बजेटको कूल अंशमध्ये एक प्रतिशत रकम आविष्कारको क्षेत्रमा छुट्याएर काम गर्ने वातावरण बनाउनुपर्ने र त्यसका लागि ठोस पहल गर्नसमेत मन्त्रीलाई आग्रह गरे ।

मन्त्रीको भ्रमणप्रति केन्द्रका अध्यक्ष पुनले पनि खुशी व्यक्त गरेका छन् । उनले साेमबार साँझ फेसबुकमा लेखेका छन्, 'आज माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूज्यू चोभारको सुक्खा बन्दरगाह हेरेर फर्कंदा सचिव गणेश प्रसाद पाण्डे ज्यूसहित आफ्नो टिम लिएर अचानक आविष्कार केन्द्रमा आउनु भयो र एक घण्टासम्म यहाँ भैरहेका कामहरु हेर्नु भयो ।'

केन्द्रसँग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले के-के कुरामा सहकार्य गर्न सक्छ भनेर छलफल गर्नका लागि मन्त्रालयमा आउन मन्त्री बडूले निमन्त्रणा पनि दिएकाे अध्यक्ष पुनले उल्लेख गरेका छन् । पुनका अनुसार केन्द्रमा पाइला टेक्ने बडू नै पहिलो संघीय मन्त्रालयको मन्त्री हुन् । 'नेताज्यूहरुले यत्तिको आँखा लगाई दिए पनि रमाइलो नै लाग्ने रहेछ । आविष्कार केन्द्रमा आएर यहाँ भैरहेका कामहरु हेरिदिनु भएकोमा मन्त्रीज्यू सहित सम्पूर्ण टिमलाई धन्यवाद छ । साथै अरु-अरु नेताज्यूहरुलाई पनि आविष्कार केन्द्रमा स्वागत छ,' पुनले भनेका छन् ।

प्रकाशित समय : १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु