गृहपृष्ठ साताकाे अन्तिम दिन नेप्से दाेहाेराे अंकले बढ्याे
साताकाे अन्तिम दिन नेप्से दाेहाेराे अंकले बढ्याे
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ । कारोबार मापक नेप्से परिसूचक १३.७८ अंकले उकालो लागेर एक हजार ८६२.०६ मा पुगेको छ । यस्तै, ठुला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८१ अंकले उकालो लागेर ३६४.९० मा पुगेको छ ।
कूल २२३ कम्पनीको ३५ लाख ४१ हजार ५३७ कित्ता सेयर एक अर्ब १५ करोड १२ लाख आठ हजार ३१ मूल्यमा कारोबार भयो । सेयर कारोबार हुने साताको अन्तिम दिन अर्थात् शुक्रबारको कारोबारपछि बजार पुँजीकरण २६ खर्ब ५४ अर्ब ८२ करोड ८९ लाख ९० हजार बराबर छ ।
कारोबार भएका कुल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै सेयर मूल्यमा गिरावट आएको छ भने १२ उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ २.३७, व्यापार ३.३२, होटल तथा पर्यटन २६.०४, विकास बैंक ५७.०४, जलविद्युत् २४.०५, वित्त २४.९२, निर्जीवन बिमा १२८.९३, उत्पादन २९.६२, अन्य १२.०८, लघुवित्त ३१.७७, जीवन बिमा १३१.४६, लगानी ०.२६ अंकले उकालो लाग्दा सामूहिक लगानी कोष ०.०९ अंकले ओरालो लाग्यो ।
कारोबारका आधारमा कुमारी बैंक आज पनि शीर्ष स्थानमा छ । सो बैंकको आठ करोड ६३ लाख १२ हजार ३४७ बराबरको कारोबार भयो । त्यस्तै, न्यादी ग्रुप पावर छ करोड ३१ लाख ५९ हजार २०९, लक्ष्मी बैंक चार करोड ७६ लाख ९३ हजार १८४, हिमालयन डिस्टिलरी तीन करोड ४८ लाख ५९ हजार २१४ र नागरिक लगानी कोष तीन करोड सात लाख ७८ हजार ९८९ बराबरको कारोबार भइ शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार न्यादी ग्रुप अफ पावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भइ सकारात्मक सर्किट लाग्यो । सिवाइसी नेपाल लघुवित्त ८.२१, लाइफ इन्स्योरेन्स कर्पोरेशन ७.८९, राधी विद्युत् कम्पनी ७.७१ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ५.९३ प्रतिशतले कमाए । यस्तै, आँधीखोला लघुवित्त ७.८८, मेगा म्युचुअल फण्ड एक ६.९२, माहुली लघुवित्त ६.८०, घलेम्दी हाइड्रो ५.०४ र सनराइज ब्ल्यूचिप फण्डका लगानीकर्ताले ३.६१ प्रतिशतले गुमाए ।
प्रकाशित समय : २३:५३ बजे



















