गृहपृष्ठ मेलम्ची क्षेत्रमा पूर्वसूचना प्रणाली ‘साइरन’ परीक्षण
मेलम्ची क्षेत्रमा पूर्वसूचना प्रणाली ‘साइरन’ परीक्षण
मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन)को अवस्था परीक्षण गरिएको छ । मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको अवस्था परीक्षण गरिएको हो ।
मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले साइरनबाट मनसुनको समयमा हुनसक्ने सम्भावित विपद्को जोखिमलाई कम गरी जनधनको क्षतिलाई कम गर्न सहयोग मिल्ने बताए । मेलम्चीले गत असारको विनाशकारी बाढीपश्चात् आफ्नै लगानी तथा रामलक्ष्मण इनोभेसन प्रालिको सहयोगमा ‘अर्ली वार्निङ सिस्टम’ (पूर्व चेतावनी प्रणाली) साइरन प्रविधि जडान गरेको थियो ।
यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले भौतिक पूर्वाधारसँगै गुणस्तरीय शिक्षामा ध्यान दिन आग्रह गरेका छन् । आइतबार जय बागेश्वरी माध्यमिक विद्यालय हेलम्बु-३, पाल्चोकको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले प्रतिस्पर्धामा सफल हुने गरी विद्यार्थीलाई अध्यापन गराउन आग्रह गरे ।
उनले नेपाली कांग्रेसले हुने र सक्ने काम मात्र बोल्ने जनाउँदै बोलेको काम पूरा गर्ने बताए । ‘शिक्षा विकास तथा समन्वय एकाइ’को ६९ लाख ७० हजार रूपैयाँ सहयोगमा सो भवन निर्माण सम्पन्न भएको हो ।
प्रकाशित समय : १४:४८ बजे



















