गृहपृष्ठ अदालतबाट फरार व्यक्ति तीन घण्टापछि पक्राउ
अदालतबाट फरार व्यक्ति तीन घण्टापछि पक्राउ
नेपाल प्रहरीले अदालत परिसरबाट फरार व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार साँझ जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि लैजाने क्रममा फरार रहेका सप्तरी कचन गाउँपालिका घर भई हाल काठमाडौँको तिलगंगा बस्दै आएका अनिल ठाकुरलाई गए राति पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले लागुऔषध मुद्दामा म्याद थपका लागि अदालतबाट फरार ठाकुरलाई तीन घण्टापछि कोटेश्वरस्थित आकाशे पुल नजिकबाट पक्राउ गरिएको जानकारी दिए । अदालतबाट फरार भएसँगै काठमाडौँ प्रहरीले ललितपुर र भक्तपुर प्रहरीलाई समेत खबर गरी सूक्ष्म तवरले जाँच गर्ने व्यवस्था गरेको थियो ।
यस्तै, काठमाडौँको प्रमुख नाकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रवक्ता मैनालीले बताए । जिल्ला प्रहरी परिसरको विशेष प्रहरी एकाइ र प्रहरी प्रभाग कोटेश्वरको टोलीले पक्राउ गरेका ठाकुरलाई प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १४:३६ बजे



















