गृहपृष्ठ ‘जहाज कहिल्यै पुरानो हुँदैन’
‘जहाज कहिल्यै पुरानो हुँदैन’
गत जेठ १५ गते मुस्ताङमा तारा एयरकाे विमान दुर्घटना भयाे । विमान सवार सबै २२ जनाले ज्यान गुमाए । यससँगै बहस के सुरू भयाे भने- पुरानाे जहाज उडाएका कारण दुर्घटना भएकाे हाे ? याे बहस अझ सतहमा तब आयाे, जब एक मन्त्रीले नै 'नेपालमा युराेपतिर कामै नलाग्ने भइसकेका सेकेन्ड ह्यान्ड, थर्ड ह्यान्ड जहाज ल्याएर मानिसकाे जीवनमाथि खेलवाड भइरहेकाे' बताए ।
मन्त्रीकाे भनाइ र आमनागरिककाे आशंकामा के-कति सत्यता छ ? दुर्घटना भइहाले मानवीय क्षतिकाे सम्भावना बढी हुने भएकाले पनि यस प्रश्न पनि महत्वपूर्ण छ । आम मानिसले बुझ्ने हवाइजहाज वा विमान । अर्काे नाम ‘वायुयान’ अर्थात अकाशमा उड्ने वाहन । यसलाई सडकमा गुड्ने गाडीसँग दाँज्नै मिल्दैन । २०औं हजार किलोग्राम तौल भएको जहाज आकाश उडाउने क्रममा कडा परिधि, विधि तथा पूर्ण नियन्त्रित र अनुगमनका शर्तहरु तोकिएका हुन्छन् । यसकाे पूर्णत: पालना हुनु उडानकाे सबैभन्दा पहिलाे सर्त हाे ।
एटीआर विमान निर्माताले जहाज मोडलको आयु विभिन्न अध्ययन, अनुसन्धान र परीक्षण गरी तय गरेका हुन्छन् । यसलाई थप पुष्टि र सुरक्षित गर्न विभिन्न अन्तर्राष्ट्रिय नियामक निकायहरुले पनि विभिन्न चेकजाँच गरी प्रमाणपत्र दिएका हुन्छन् । वायुसेवा सञ्चालक कम्पनीहरुले विमान निर्माता कम्पनी तथा त्यस देशका अनुगमनकारी निकायले जारी गरेको दिशानिर्देशलाई अक्षरशः लागू तथा पालना गर्नुपर्छ । अन्यथा, दण्डका भागीदार मात्रै होइन सेवा नै स्थगित गर्नुपर्ने हुन्छ । एटीआर विमानको आयु वर्ष समयमा होइन ‘चक्र’ (cycle) मा निर्धारण गरिएको हुन्छ । अर्थात १ उडान + १ अवतरण = एक चक्र । यो आयु धेरै उडान गरेको खण्डमा थोरै समयमा सकिन्छ भने कम उडान गरेको खण्डमा धेरै वर्ष टिक्छ । आयु सकेपछि सो जहाजलाई उडान सेवाबाट वञ्चित गरिन्छ । कतिपय देशमा यसलाई नष्ट गर्ने चलन पनि रहेको छ ।
विमानभित्र हजारौं संख्यामा पार्टपूर्जा हुन्छन् । हरेकको निश्चित आयु तोकिएका हुन्छ भने केहीको नबिग्रुञ्जेलसम्म चलाउन मिल्छ । विमानलाई सुरक्षित र व्यवस्थित रुपले सञ्चालन गर्न निर्माता कम्पनीले तोके अनुसारको नियमित मर्मत सम्भार गर्नुपर्छ । जहाजका हरेक पार्टपुर्जाको साइकल हुन्छ, त्यो पूरा भएपछि अनिवार्य फेर्नैपर्छ । बिग्रेका पार्टपूर्जा मात्र फेरेर हुँदैन । आकाशमा उड्ने विमानको शरीर (Fuselage) पखेटा, पुच्छर ठीक अवस्थामा छ कि छैन, यसलाई छोपेका पाताहरु र सयौं-हजारौं पेचहरु ठीक छ छैन, खिया लागेको छ कि !, भित्रका लाखौं तारहरु, कडीहरु ठीक अवस्थामा छ/छैन भन्ने चेकजाँच निर्माताले तोकेको समयमा सबै कुरा खुलाई सुक्ष्म निरीक्षण र मर्मत गर्नुपर्ने हुन्छ ।
जहाज पुरानाे भएकै कारण दुर्घटनाकाे जाेखिम हुन्छन् भन्ने कुरा पूर्णत: गलत भएकाे मेकानिकल एयरक्राफ्ट इञ्जिनियर राजेन्द्र क्षेत्री बताउँछन् । उनका अनुसार हरेक पाटपूर्जादेखि पुरै बडीकाे नियमित जाँच हुने भएकाले जहाज पुरानाे भए पनि उडानमा कुनै जाेखिम हुँदैन । 'कुन पाटपूर्जा वा सिस्टम कति समयपछि जाँच गर्ने भन्ने कुरा विमान उत्पादक कम्पनीले नै ताेकिदिएकाे हुन्छ । हवाइ उड्डयन नियामक निकायले पनि उत्तिकै सुरक्षा मापदण्डहरू ताेकिदिएकाे हुन्छ,' उनले भने, 'ती सबै पालना नगरी उडाउनै पाइन्न । यसमा कसैले हेचेक्रयाइँ गर्छ भने दण्ड सजायकाे प्रावधानकाे व्यवस्था छ ।'
अफ्रिकी मुलुक लिबियामा समेत मेकानिकल एयरक्राफ्टकै क्षेत्रमा लामाे काम गरेका इञ्जिनियर क्षेत्री सुरक्षा जाँच र पालनाकाे विषयमा कुनै शंका नगर्न आग्रह गर्छन् । जहाज पुरानाे हुँदै गएपछि नियमित जाँच र मर्मतकाे तालिका भने अलि बाक्लाे हुने उनले बताए । 'नयाँ हुँदा जे-जति समयकाे फरकमा जाँच-मर्मत हुन्थ्याे, जहाज पुरानाे हुँदै गएपछि त्यस्ताे जाँच-मर्मत अलि छिटाेछिटाे हुने मात्र हाे,' सन् १९७७ देखि यसै क्षेत्रका कार्यरत क्षेत्रीकाे भनाइ छ ।
एटीआर विमानलाई व्यवस्थित गर्न ह्यांगरको व्यवस्था नभइकन सम्भव नै छैन । नेपालकाे अग्रणी हवाइ कम्पनी बुद्ध एयरले करिब १० वर्ष अगाडि २५ करोड रुपैयाँको लगानीमा दक्षिण एसियाकै नमुना ह्यांगर निर्माण गरी सञ्चालनमा ल्याएको छ । त्यस्तै एटीआर विमानको मर्मत सम्भार र निरीक्षण गर्ने सबै विशेष औजारहरु राखेको छ । करिब ११२ करोड रुपैयाँभन्दा बढीको जहाजका पार्टपूर्जा मौज्दात रहेका छन् । विमान निर्माता कम्पनीले प्रमाणित गरेको प्रशिक्षकहरुबाट तालिमप्राप्त र प्रमाणित दक्ष १९१ प्राविधिकले मर्मत सम्भार र रखवारीका लागि अहोरात्र खटिएका हुन्छन् । बुद्ध एयर सबै प्रकारका मर्मत सम्भार गर्न सक्षम भइसकेकाे छ । मर्मत सम्भारका लागि विदेश जानु पर्दैन । बरु विदेशी जहाजहरुलाई पनि मर्मत सम्भारका सेवा उपलब्ध गराईरहेको छ । बुद्ध एयरले विगतमा विभिन्न कम्पनीका जहाज तथा विशिष्ट पाहुनाहरुको जहाजको मर्मत र नियमित चेक गरेको छ । यसबाट पनि एउटा हवाइ कम्पनीले सुरक्षाका लागि कति लगानी र व्यवस्थापन गर्छ भन्ने स्पष्ट हुन्छ ।
वरिष्ट पाइलट दधिराम निराैला पनि पुरानाे र नयाँ जहाज हुनुले उडान सुरक्षामा कुनै फरक नपार्ने बताउँछन् । 'फरक पार्ने कुरा भनेकाे कुनै पनि जहाजलाई नियमित जाँच र मर्मत भएकाे छ कि छैन भन्ने नै हाे । यसमा पनि जाँच र मर्मतका सर्त पालना नगरी, ताेकिएका मापदण्ड पूरा नगरी उडान भर्न अनुमति नै हुँदैन । यस कारण पनि जहाज कति नयाँ वा कति पुरानाे भन्ने प्रश्न आवश्यक छैन,' उनी भन्छन् । जहाज दुर्घटना हुनुमा दुर्घटनाका प्रकृतिअनुसार भिन्न-भिन्न कारणहरू हुने उनकाे भनाइ छ । 'दुर्घटनाकै कुरा गर्ने हाे भने त नयाँ जहाजहरू पनि दुर्घटना भएका उदाहरणहरू छन् । यसले पनि नयाँमा जाेखिम नहुने, पुरानाेमा मात्र हुने भन्ने देखियाे त ?' उनी प्रश्न गर्छन् ।
नेपालमा नयाँ जहाज नै खोज्ने हो भने त्यो नगण्य मात्रै रहेको छ । विश्वमा कराेडाैं र नेपालमै पनि हरेक दिन लाखाैं मानिस हवाई यात्रा गरिराखेका हुन्छन् । उपलब्धता र सहजता हेरेर हरेककाे पहिलाे राेजाइ हवाइ यात्रा नै रहने गरेकाे छ । हवाई यात्रा सुरक्षित र सहज यात्राको पर्यायवाची मानिन्छ ।
प्रकाशित समय : २०:३८ बजे


















